तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुदको माध्यमबाट लागू औषध दुर्व्यसनी कम गर्न सकिन्छ : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले खेलकुदका माध्यमबाट लागू औषध दुर्व्यसनी कम गर्न सकिने बताउनुभएको छ ।

बौनियामा प्रथम मुख्यमन्त्री पालिका स्तरीय जिल्ला व्यापी फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले लागू औषधको दुर्व्यसन (कुलत)बाट युवा पिँढीलाई रोक्न खेलकुद जस्ता रचनात्मक क्रियाकलाप सहयोगी बन्न सक्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले लागू औषध दुर्व्यसनीलाई खेलकुदसँग जोड्ने गरि विभिन्न क्रियाकलाप गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री शाहले खेलकुद क्षेत्रको विकासलाई प्रदेश सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै खानेपानी, बिजुली, सडक बिस्तार जस्ता जनतासँग प्रत्यक्ष जोडिएका विकास योजनालाई आगामी ५ वर्षभित्र पूरा हुने गरि काम अघि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

‘आत्मविश्वास, आत्मनिर्भर, स्थानीय पहिचान र स्वास्थ्यका लागी खेल’ भन्ने नाराका साथ शुरु भएको मुख्यमन्त्री फुटबल प्रतियोगिता मङ्सिर २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ । प्रतियोगितामा कैलालीका पालिकाबाट १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजयी र उपविजयी टिमले क्रमशः २ लाख १ हजार तथा १ लाख ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button