राप्ती नदी किनारमा तीन दिने पूर्णमासी स्नान मेला सुरु
नेपालगञ्ज । बाँकेको राप्ती नदीस्थित सिधनियाघाटमा तीन दिने मेला सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाको अवसरमा तीन दिनसम्मका लागि मेला सुरु भएको हो ।
कार्तिक पूर्णिमाका दिन राप्ती नदीमा स्नान गर्नेको भीड लाग्ने गर्दछ । आज सोमबार नदीमा स्नान गर्न विभिन्न स्थानबाट भक्तजन आउने गर्दछन् । नदी तथा जलाशयमा बिहान स्नान गरी गौदान गर्ने, सिधा तथा अन्न लगायतका दान पण्डितलाई दिने गरिएको अवधि साहित्यकार पण्डित शिवप्रसाद पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “यो स्नानको ठूलो महत्व छ, यो स्नान गर्नाले माघे सङ्क्रान्तिका दिन स्नान गरिएको जति फल मिल्छ, यो सूर्य भगवानको विकिरण पानीमा पर्ने भएकाले स्नान गरेपछि मानिसको शरीरमा चर्मरोगसम्बन्धि समस्या समेत निराकरण हुन्छ ।”
देव सैनी पूर्णमासीको स्नानले मानिसको शरीरलाई चम्किलो तथा फुर्तिलो समेत बनाउने गरेको पण्डित पाठकले बताउनुभयो । कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चतुर्मास समापन हुन्छ । चतुर्मास समापन पश्चात् शुभ कार्यको थालनी गर्ने चलन रही आएको छ । पूर्णिमाका दिनदेखि विवाह तथा व्रतबन्धका साइत सुरु हुने पण्डित पाठकले बताउनुभयो । चतुर्मासका कारणले रोकिएका विवाह तथा व्रतबन्ध अनि ठूला पूजाआजा सबै सुरु हुन्छन् ।
मेलामा रामलीला मञ्चन, मनोरञ्जनात्मक नाचगान लगायतका सांस्कृतिक कार्यक्रम हुने स्थानीय मेला आयोजक समितिका भोलाप्रसाद गुप्ताले बताउनुभयो । उहाँका अनुसार भारतबाट करिब २० कलाकारको समूहले नाटक मञ्चन, नौटङ्की नृत्य लगायतका सांस्कृतिक कार्यक्रम गरिरहेको छ । मेलामा साधु सन्तको उपस्थिति रहेको छ । मेलाको अन्तिम दिन भण्डारा गरी समापन गरिने समितिले जनाएको छ ।
यस्तै बाँकेको जानकी र राप्तीसोनारी गाउँपालिकाको ग्रामीण क्षेत्रमा लाग्ने ऐतिहासिक मेला पनि सुरु भएका छन् । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका–२ जोगागाउँ र वडा नम्बर ५ गुरुवा गाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्छ । यस वर्ष आजदेखि तीन दिन मेला सञ्चालन हुने जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिनुभयो ।
पुराना मेलाका रूपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट मानिस आउने गर्दछन् । मेलामा राति सांस्कृतिक कार्यक्रम समेत हुने गर्दछ । ऐतिहासिक मेलाको संरक्षणका लागि आफूहरूले आवश्यक सहयोग गर्दै आएको अध्यक्ष खाँले बताउनुभयो ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुरमा पनि प्रत्येक वर्ष तीन दिने डिग्रे मेला लाग्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्