तपाईँ सुन्दै हुनुहुन्छः

‘विद्यापतिको रचनाले लोकतन्त्र, देश र जनताको पक्षमा सन्देश दिएको छ’

जनकपुरधाम । मैथिली भाषाका महाकवि, कवि कोकिल विद्यापतिको स्मृति पर्व २०८० जनकपुरधाममा आज विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।

मैथिली भाषा साहित्यका क्षेत्रमा कालजयी कृतिहरू रहेका महाकवि विद्यापतिको रचनाहरू अहिले पनि मिथिलामा हुने हरेक चाडपर्व तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रममा प्रयोग गरिँदै आएको छ ।

विद्यापति स्मारक संरक्षण समिति जनकपुरधामले आयोजना गरेको कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले महाकवि विद्यापतिको रचनाहरूमा देश, लोकतन्त्र, समावेशिताको पक्ष र छुवाछुतको विरुद्धमा गहिरो सन्देशहरू दिएकाले अहिले पनि सबैका लागि अनुकरणीय भएको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले महाकवि विद्यापतिका रचनाहरू ५० औँ भाषामा रहेकाले उहाँ मिथिलाको महाकवि मात्र नभई संसारका महाकवि भएको बताउनुभयो ।

उहाँले विद्यापतिको स्मारकमा जनकपुरधाम उपमहानगरपालिकाले संरक्षणको काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै महाकविको स्मरण तथा सम्झनामा थप काम गर्नका लागि महानगर तयार भएको बताउनुभयो ।

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुरले विद्यापतिको रचनाहरू कालजयी भएको बताउँदै प्रदेश सरकारले विद्यापतिले निर्वासनको समयमा १२ वर्षसम्म बस्नुभएको ठाउँको एकिन गर्नका लागि मधेश प्रज्ञाप्रतिष्ठान मार्फत काम गर्ने आशा व्यक्त गर्नुभयो ।

विद्यापति स्मारक संरक्षण समितिका अध्यक्ष चन्द्रमोहन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, पूर्व प्रमुख जिल्ला अधिकारी जीवच्छ मिश्र, वडा नंं ४ का वडाध्यक्ष सुरेश झा सहितका वक्ताहरूले महाकवि विद्यापतिको कृतिहरू माथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा काशीनाथ झा, धिरेन्द्र झा मैथिल, पुनम झा सहितका कवि कवयित्रीहरूले महाकवि विद्यापतिमा आधारित कविता वाचन गर्नुभएको थियो ।

महाकवि विद्यापतिको विद्यापति चौकमा रहेको स्मारकको संरक्षण तथा जीर्णोद्धारमा जनकपुरधाम उपमहानगरपालिकाले ४ लाख बजेट प्रदान गरेको छ ।

कार्यक्रममा रेडियो नेपालका सम्वाददाता अजय कुमार झा र राष्ट्रिय समाचार समिति मधेश प्रदेशका कार्यालय प्रमुख टिकाराम सुनारलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button