११ देशका ५५ प्रतियोगी साइक्लिङमा सहभागी
पोखरा । नेपालसहित ११ देशका ५५ जना साइक्लिष्टहरु(प्रतियोगी) ले पोखरा १३ स्थित आर्बा–विजय डाँडामा आ आफ्नो कल प्रस्तुत: गर्न सुरु गर्नुभएको छ ।

पोखरामा बिहीबारदेखि सुरु भएको एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा सहभागी उक्त प्रतियोगीहरूले आफ्नो कला प्रदर्शन गर्न सुरु भएको प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले बताउनुभयो ।
प्रतियोगितामा ५ जना महिला प्रतियोगीहरू सहभागी हुनुभएको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सिंगापुरका प्रतियोगी वेलसोन लोलाई नम्बर प्लेट दिएर उक्त प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । मेयर आचार्यले उक्त प्रतियोगितालाई निरन्तरता दिन महानगरले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

पोखरा १३ का वडा अध्यक्ष किरण बरालले स्थानीयको सहयोगको कारण आज पोखरा १३ विश्व सामु परिचित हुने अवसर प्राप्त भएकोमा खुसि व्यक्त गर्नुभयो ।
पोखरा १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले पोखराको विकासमा यस्ता खेलकुद गतिविधि आवश्यक भएको बताउनुभयो ।
इलिट पुरुषतर्फको विजेतालाई ५० हजार उपविजेतालाई ३० हजार र तेस्रो हुनेलाई २० हजार प्रदान गरिने भएको छ भने महिलातर्फ सोही इभेन्टमा विजेतालाई ३५ हजार, उपविजेतालाई २५ हजार र तेस्रो स्थान हासिल गर्ने प्रतियोगितालाई भने १५ हजार प्रदान गरिने भएको छ ।

खेलकुद र पर्यटनलाई टेवा पुराउनका लागि प्रतियोगिता आयोजना गरिएको डन टिल डस्कका प्रबन्ध निर्देशक छिमी उक्रेन गुरुङले बताउनुभयो । सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाउन ५० लाख रुपैयाँ लगानी भैसकेको र प्रतियोगिता सञ्चालन हुने समयसम्म थप २० लाख लगानी हुने गुरुङको भनाई छ । आगामी बर्ष देखि उक्त प्रतियोगितालाई निरन्तरता दिने उहाँले जनाउनुभयो ।
उक्त प्रतियोगिता अन्तर्गत बिहीबार र शुक्रबार अभ्यास खेल हुनेछ भने ९ गते प्रतियोगिताको फाइनल चरण हुनेछ । प्रतियोगिता समुन्द्री सतहबाट १३६० मिटर उचाँईमा रहेको आर्वा–विजय डाँडामा सुरु भएको हो । ५ वटा रुटमा उक्त प्रतियोगिताको तयारी गरिएको हो ।

प्रतियोगिताले आगामी दिनमा विश्वभर ठुलो सङ्ख्यामा माउन्टेन बाइकिङ प्रेमीहरू आकर्षित भई नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उक्त प्रतियोगितालाई पोखरा महानगरपालिका, कास्की जिल्ला साइक्लिङ संघ, पोखरा खेलकुद विकास समिति तथा पोखरा १३ को वडा कार्यालयले समन्वय गरेको छ । आफ्नो गाँउमा ११ बढी देशका खेलाडीहरू सहभागी हुने भएपछि स्थानीय आमा समूहदेखि विभिन्न संघ संस्थाले ठाउँ ठाउँमा खेलाडी सहितका प्रतियोगितामा आगन्तुकहरूलाई फुलमालाले स्वागत गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्