तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वी चितवनको ऐतिहासिक चित्रसारी मेला आजबाट शुरु 

चितवन  । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. ८ मा आज  देखि चितवनकै पुरानो तथा ऐतिहासिक चित्रसारी मेला  शुरु भएको छ । हरेक बर्ष हरिबोधनी एकादशीको अवसरमा लाग्ने सो मेला यस बर्ष आज देखि तीन दिन सम्म लाग्ने छ ।

मेलाको मुख्य दिन भने भोली बिहीबार हो । बिहीबार मेलामा अत्यधिक भीड हुनेभएकोले सुरक्षा व्यवस्था कडा पारिएको छ । 

चित्रसेन बाबा मन्दिर संरक्षण समितिले मेलाको अगुवाइ गर्दै आएको छ । यो चितवनकै सबैभन्दा पुरानो र ऐतिहासिक मेला पनि हो । दसैँ र तिहार सकिए लगतै लाग्ने सो मेला ६५० वटा स्टल राखिएको समितिका अध्यक्ष जलराम महतोले जानकारी दिनुभयो  । मेलाको सम्पूर्ण तयारी समेत पुरा भएको छ  । एकादशीमा व्रत बसेको महिलाहरू चित्रसेन बाबा मन्दिरमा पूजा गर्न आउने र भक्तजनहरू मेलामा रमाउने चलन रहेको छ ।

व्रत बसेका महिलाहरू भेलामा पाइने, फलफूल, उखु,सखरखण्ड लगायतका सामाग्री किनेर घर लैजाने चलन रहेको समितिका अध्यक्ष महतोले बताउनु भयो  । सो मेलाको प्रमुख आकर्षणको रुपमा उखु र राउण्ड बत्तीलाई लिने गरिएको छ । मेलामा पाइने उखु, सखरखण्ड, बदाम विशेष खानाको रुपमा खाने प्रचलन रहेको छ । सो मेलामा व्यावसायिक, खेल तथा रेष्टुरेन्टका स्टलहरू रहने छन् ।

राउण्ड बत्ती र रिङ सो मेलामा प्रमुख खेलहरू हुन् । चित्रसारी मेला तीन दिनको अवधिमा ६० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । ‘यो धार्मिक मेला हो अध्यक्ष महतोले भन्नुभयो , परापूर्वककाल देखि लाग्दै आएकोले यसको महत्त्व अहिले पनि उत्तिकै छ ।’ मेलाबाट भएको आम्दानी चित्रसेन बाबाको मन्दिर व्यवस्थापनमा खर्च गरिँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button