अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
सुनसरी । सुनसरीको विभिन्न भेगका जलाशयहरूमा लोक आस्थाको महान् पर्व छठको अवसरमा आइतबार साँझ सूर्यलाई अर्घ दिएको छ ।
तीन दिनदेखि तयारी स्वरूप छठ घाट निर्माण गरेकाहरूले अस्ताउँदै गरेको सूर्यलाई साँझ अर्घ दिइएको हो ।

अर्घसँगै धुमधामका साथ छठ पर्व सहित सांस्कृतिक र मौलिक कार्यक्रम समेत आयोजना भइरहेका छन् । जिल्लाको र देशको सबै भन्दा ठूलो नदी सप्तकोशी नदीको महेन्द्रनगर, चक्रघट्टी, प्रकाशपुर, मधुवन, पश्चिम कुशाहा र कोशी ब्यारेज सहित दर्जन बढी स्थानमा छठको विशेष कार्यक्रम आयोजना भएका छन् ।

जिल्लाको सीमावर्ती देवानगञ्ज, बर्जू, कोशी गाउँपालिकाको लौकही, कोशी कटान, भाण्टाबारी, सुनसरी–मोरङको सिँचाइ आयोजनाको नहर सहितका स्थानमा हजारौँ भक्तजनहरूले छठको घाटमा जाग्राम बसेका छन् ।

छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्म रोग छिटो निको हुने पनि विश्वास गरिन्छ ।

केही भक्तजन घरबाट साँझ र बिहान घस्रिँदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।
व्रत बसेका श्रद्धालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएकोमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व समापन हुन्छ ।








प्रतिक्रिया राख्नुहोस्