कामको गति बढाउन मन्त्री बस्नेतको निर्देशन
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालय र मातहतका अधिकारीलाई कामको गति बढाउन निर्देशन दिनुभएको छ । नेपालीका महत्वपूर्ण चाड पर्व सकिएको सन्दर्भमा अब कामलाई गति दिन उहाँले निर्देशन दिनुभयो ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका आज आयोजित मन्त्रालय र मातहतका उच्च अधिकारी सम्मिलित बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले चालु आर्थिक वर्षको चार महिना पूरा भएको सन्दर्भमा हालसम्म भए गरेका काम कारबाहीको विस्तृत विवरण प्रस्तुत गर्न र कामलाई पूर्ण रुपमा गति दिन उहाँले आग्रह गर्नुभयो ।
राष्ट्रिय गौरवका आयोजना, ठूला र पहिलो प्राथमिकतामा रहेका आयोजनाको कामलाई विशेष ध्यान दिएर अगाडि बढाउन, निर्माण व्यवसायी परिचालनमा ध्यान दिन तथा आवश्यक सहजीकरण गर्न समेत उहाँले ध्यानाकर्षण गराउनुभयो ।
मन्त्री बस्नेतले ऊर्जा, सिँचाइ तथा प्रसारण लाइनको आयोजनामा देखिएको समस्या समाधानका लागि आफूले नियमित मेहनत गरिरहेको उल्लेख गर्दै सोहीअनुसार तलसम्म कर्मचारी परिचालित हुनुपर्नेमा जोड दिनुभयो ।
छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले प्राथमिकता क्रम निर्धारण गरेर नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका योजना कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो ।
छलफलमा मन्त्रालयका सहसचिवहरू, विद्युत् विकास विभाग, जल तथा मौसम विज्ञान विभाग, सिँचाइ विभाग, नेपाल विद्युत् प्राधिकरण र मन्त्रालय मातहत रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो ।







प्रतिक्रिया राख्नुहोस्