नेपालगन्जमा आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियान प्रभावकारी बन्दै

बाँके । नेपालगन्ज उपमहानगरपालिकालाई सफा र स्वच्छ राख्न होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ बाँकेले सञ्चालन गरेको ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियान प्रभावकारी देखिएको छ ।
सरसफाइमा हरेक नागरिकलाई सहभागी गराएर नगरलाई सफा राख्ने उद्देश्यले केही समयअघि सञ्चालन गरिएको ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियानले उपमहानगरको सरसफाइमा सुधार आएको बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घले जनाएको छ ।
बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष गोपालप्रसाद गिरिले उपमहानगरले एक्लै नगरको सरसफाइ गर्न नसक्ने तथा सो कार्यमा हरेक नागरिकको पनि सहयोग र समर्थन आवश्यक परेको देखेर सुरु गरिएको ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियान सफाइका लागि प्रभावकारी देखिएको बताउनुभयो ।
उहाँले सो अभियान अन्तर्गत नगरको टोली टोलमा पुगेर, पसलमा तथा कलकारखाना र घरहरूमा समेत डस्टविन वितरण गर्दै फोहर डस्टविनमै राखिदिन आग्रह गरिएकोमा अधिकांशले सोही प्रकार गरेको बताउनुभयो ।
यसअघि नेपालगन्ज उपमहानगरले पनि फोहोर व्यवस्थापनमा कडाइ गर्दै फोहोर जथाभाबी फाल्नेलाई कारबाही गर्ने चेतावनी दिएको थियो । अधिकांश नगरवासीले आफ्नो फोहोरलाई जथाभाबी फाल्ने गरेकै कारण फोहोर व्यवस्थापनमा समस्या आउने गरेको र नगरलाई सफा र स्वच्छ राख्न समस्या हुने गरेको उपमहानगरपालिकाले जनाएको थियो ।
नेपालगन्ज उपमहानगरको वातावरण तथा सरसफाइ शाखाका अनुसार नगरमा सबैभन्दा बढी बजेट खर्च गरेर सरसफाइको काम गरेनि त्यति प्रभावकारी नभएको तर यो अभियानले नगरलाई फोहोरमुक्त र सफा सहर बनाउने काममा थप सहयोग गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्