तपाईँ सुन्दै हुनुहुन्छः

कुम्भकार जातिको पेशाको संरक्षण र संवर्द्धन गर्न जरुरी

विराटनगर । कुम्भकार जातिहरूले चाडपर्वको समयमा माटोको सामग्री बनाई सुनसरी, मोरङ लगायतका हाटबजारमा बिक्री गर्ने गरेको छ । तिहार र छठ पर्वको समयमा माटोको विभिन्न सामाग्री बनाई हाटबजारमा बिक्री गर्ने गरेको हो । 

दियो, कलश, घैला, ढकना लगायतका माटोले बनाई तयार पारिएका सामाग्रीहरू बजारमा बिक्री गरी आएको आम्दानीबाट कुम्भकारहरूले आफ्नो जीविकोपार्जन गर्ने गर्छन् । पुर्ख्यौली पेशालाई सकंटमा पर्न नदिन सुनसरीका बर्जु गाउँपालिका–५ का लालपेत पण्डितले विराटनगर लगायत आसपासका हाटबजारमा माटोको सामग्री बिक्री गरेर आयआर्जन गरिरहेको बताउनुभयो । 

कुम्भकार जातिहरूको पेशालाई संरक्षण र संवर्द्धन गर्न तीनै तहका सरकार तदारुकता देखाउनुपर्ने उहाँको भनाई छ । बजारमा राम्रो कमाई नभएपनि पुर्खौली पेशा भएकाले आफु सहित अन्य कुम्भकारहरू पनि माटोको भाँडो बनाउने काममा व्यस्त भएको उहाँले बताउनुभयो । चाडपर्वमा मात्र नभई १२ महिना नै कुम्भकारहरूले माटोका सामाग्रीहरू बनाई बजारमा बिक्री गर्ने गरेको अर्का कुम्भकार हरेराम पण्डित बताउनुहुन्छ । 

माटोको सामग्री बनाउने काम आफ्नो बाबु बाजेबाट सिकेर अहिले माटोका सामग्री बनाई बजारमा बिक्री गरेर गुजारा चलाउँदै आएको उहाँले बताउनुभयो । यस पेशाप्रति युवाहरूको आकर्षण घट्दो छ । पुर्ख्यौली पेशामा युवाहरूको आकर्षण बढाउनेका लागि सरकारले आधुनिक किसिमको मेसिन उपलब्ध र तालिम र माटो उपलब्ध गराउन पहल गर्नुपर्ने पण्डितको भनाई छ । 

अन्य सिजनमा मासिक चार हजार देखी १० हजार रुपैयाँ जसोतसो आम्दानी हुने गरेकोमा तिहार र छठ पर्वमा १५ हजारदेखि ५० हजार रुपैयाँसम्मको दियो लगायत पूजाका आवश्यक सामाग्रीहरू बिक्री गरेर आम्दानी गर्ने गरेको पण्डितले बताउनुभयो ।

  

प्रतिक्रिया राख्नुहोस्

Back to top button