तपाईँ सुन्दै हुनुहुन्छः

चिसोले रैथाने फूल ओइलिँदा जुम्लामा प्लाष्टिक मालाकै भर

जुम्ला । तिहार नजिकिएपछि जुम्ला बजार आयातित प्लाष्टिक मालाले भरिएको छ । पर्याप्त स्थानीय उत्पादन नहुँदा आयातित प्लाष्टिक मालाले सदरमुकामका बजारदेखि ग्रामीण बजार समेत भरिभराउ भएका छन् । 

तिहार फूलको पर्व भएपनि स्थानीय उत्पादन नहुँदा प्लाष्टिक मालाले बजार लिएको हो । साविक कर्णालीका पाँच जिल्लामा मौसम प्रतिकुलताका कारण कार्तिक मङ्सिर सम्म फूल जोगाउन मुस्किल हुने गर्दछ । यद्यपि, व्यवसायीक उत्पादन गरेको खण्डमा भने असम्भव छैन । 

जुम्लामा केही महिलाले फूल खेती गरेपनि चिसो ह्वात्तै बढेका कारण फूल जोगाउन नसकिएको र प्लाष्टिककै मालाले बजार लिएको बताएका छन् । दुईभारी खेतमा लगाएको फूल ओइलिएपछि ठुलो नोक्सान भएको पुष्प व्यवसायी कृष्णमाया कठायत बताउनुहुन्छ । थोरै मात्रै बचाएकोले अपेक्षित कमाई नहुने उहाँको भनाई छ । 

जुम्ला सदरमुकामका विभिन्न गल्लीहरू प्लाष्टिक मालाले रङ्गिएका छन् । सयपत्री,मखमली फूलले सजिनु पर्ने बजारहरू आयातित मालाले भरिएपछि खास्सै तिहारको रौनक नदेखिएको युवा सरोज शाहीले बताउनुभयो । उहाँले भन्नुभयो,“फरक फरक डिजाइनका मंहगा प्लाष्टिकका माला बजारमा राखिएका छन् । हेर्दा सुन्दर देखिएपनि त्यसको वातावरणीय असर उस्तै छ । अन्य जिल्लाले प्लाष्टिक माला प्रयोगमा समेत रोक लगाएका छन् । जुम्लामा उत्पादन पनि छैन । नियमन पनि छैन ।”

प्लाष्टिक माला जताततै छ्यापछ्याप्ती हुनुमा सडक विकास मुख्य कारण हो । पहिला सडकको विस्तार नहुँदा पुग नपुग स्थानीय फूलकै प्रयोग हुन्थ्यो । तिहार विशेष हुन्थ्यो । हाल सडक सञ्जालको विकास भएपछि स्थानीय फूल लगाउन छोडे । आयातित मालाकै भर पर्नुपर्ने बाध्यता आइलागेको जुम्लाका संस्कृतविद् रमानन्द आर्चायले बताउनुभयो । 

फूलहरूको पर्व तिहारमा स्थानीय उत्पादन नहुनु दुखद पक्ष हो । अन्य जिल्ला जस्तै जुम्लाका स्थानीय तहले पनि फूलको व्यवसायीक उत्पादनमा जोड दिनु पर्ने उनको सुझाव छ ।  जुम्लाका आठ वटै स्थानीयतहका ग्रामीण बजारमा आयातित मालाकै रजाई भएको छ । तर जुम्लाको प्रशासनले भने प्लाष्टिक माला प्रयोगमा रोक लगाउन चासो दिएको छैन । प्रशासनले चासो नदिने प्लाष्टिक माला प्रयोगमा रोक लगाउनुका साथै स्थानीय फूल उत्पादनमा स्थानीयतहले लगानी गर्नुपर्ने नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताउनुभयो । 

मुगु र कालिकोटमा प्लाष्टिक मालामा रोक
छिमेकी जिल्ला मुगुको एक पालिका र कालिकोट जिल्लाले आयाति प्लाष्टिकको माला प्रयोगमा रोक लगाएको छ । मुगुको छाँयानाथ रारा नगरपालिकाले एक सूचना जारी गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन तथा किसानलाई प्रोत्साहन गर्न आयातित मालाको प्रयोगमा रोक लगाइएको जनाएको छ । 

पालिकामा व्यवसायीक फूल उत्पादन गर्दै आएका तीन जना पुष्प व्यवसायीको नाम र नम्बर समेत सार्वजनिक गर्दै उनीकै फूल प्रयोग गर्न र प्लाष्टिकका माला प्रयोग नगर्न अपिल गरिएको छायानाँथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले बताउनुभयो । 

उहाँका अनुसार उक्त नगरपालिका भित्रकै पुष्प व्यवसायी बालचन्द्र कार्कीसँग १९ सय सयपत्री फूलमाला, ईश्वर बहादुर भामसंग ६ सय सयपत्री माला र बाच्या कामीसँग ३ सय सयपत्री फूलमाला तयारी अवस्थामा रहेकोले स्थानीय उत्पादनलाई नै प्रोत्साहन गरी प्रयोग गर्न सूचना जारी गरिएको छ । 

त्यसैगरी जिल्ला प्रशासन कार्यालय कालिकोटले कार्तिक २३ गते नै सूचना जारी गरी प्लाष्टिकको माला प्रयोग तथा विक्री वितरणमा पूर्ण रोक लगाएको जनाएको छ । 

वन तथा वातावरण मन्त्रालयको वातावरण संरक्षण ऐन २०७६ को दफा (१५) को उप दफा (६)ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लाष्टिकका मालाको प्रयोगमा रोक लगाउने निर्णय भएअनुसार कालिकोटमा आयात तथा विक्री वितरणमा रोक लगाइएको कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कालिकोट सबै व्यापारीहरूलाई प्लाष्टिकका माला विक्री नगर्न समेत सूचना गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button