तपाईँ सुन्दै हुनुहुन्छः

भीरबाट लडेर बाबुको मृत्यु,  आमा बिरामी,  तीन छोराको बिचल्ली

मुगु  ।  मुगुको सदरमुकाम गमगढी नजिकै रहेको चैन खोलाको भीरबाट लडेर  एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिका वडा नं ७ तलि घुईरकाका ३४ वर्षीय  डिसियम नेपाली भएको प्रहरीले जनाएको छ ।

मृतक नेपाली बिहीबार बेलुका खाने नुन लिएर  घर जाँदै  गर्दाको अवस्थामा एक्कासी चिप्लिएर भीरबाट लडेको  प्रहरीले बताएको छ । भीरबाट लड्ने बित्तिकै स्थानीय र प्रहरीले नेपालीलाई उद्धार गरि जिल्ला अस्पताल ठिनी पुर्याएको थियो ।  जिल्ला अस्पताल ठिनीमुगुमा उपचार सम्भव नभएपछि नेपालीलाई  थप उपचारका  लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला रिफर गरेकोमा  जुम्ला लैजाँदै गर्दा  निजको बाटैमै मृत्यु भएको स्थानीय जयबहादुर नेपालीले  बताउनुभयो ।  

घरमुलीका रूपमा रहेका बाबु डिसियमको मृत्यु भएपछि साना तीनजना बालकहरूको बिचल्ली भएको छ । आमा इश्वरमति नेपाली बिरामी भई लामो समयदेखि ओच्छ्यानमै थलिएपछि बाल बच्चाको स्याहार बाबुले गर्दै आएका थिए । हाल साना बाल बच्चालाई बिहान बेलुका खाना खानसमेत मुस्किल रहेको आफन्त जयबहादुर नेपालीले बताउनु भयो । ज्यालामजदुरी गरी बच्चाको पालन पोषण गर्दै आएका बाबुको निधन पछि तीन जना साना बाल बच्चाहरू बेसहारा जस्तै बनेका छन् ।  ‘दलित समुदायका कलिला बेसाहारा जस्तै बनेका ती बालबालिकाहरू अब कसले स्याहार गर्ने हो थाहा छैन ।’, स्थानीय जयबहादुर नेपालीले भन्नुभयो ।  ‘कुनै संस्थाले पढाउने जिम्मा लिइदिए उनीहरूलाई ठुलो राहत  मिल्ने थियो’, नेपालीले बताउनु भयो ।  मृतक डिसियमका  एक श्रीमतीसहित १२ वर्षका छोरा सागर नेपाली, ९ वर्षका  छोरा महेश नेपाली र ४ वर्षका छोरा सुजन नेपाली बेसहारा जस्तै  भएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button