बाँकेमा चोरी गरेको तीन दिन पछि चोरद्वारा सामान फिर्ता

बाँके । बाँकेमा अनौठो घटना घटेको छ । केही दिनअघि घर फोडेर लगेको सामान चोरले घर धनिकै आँगनमा लगेर राखिदिएको अनौठो घटना घटेको हो ।
बाँकेको राप्तीसोनारी गाउँपालिका –९, बागेसालका बुद्धबीर वलीको घरबाट चोरले मङ्गलबार राति घरमा कोही नभएको मौका छोपेर घरको ढोकामा लगाएको ताला तोडेर एक थान तिलहरी र ४५ हजार रुपियाँ नगद चोरेर लगेको थियो । सोही तिलहरी र केही नगद रुपियाँ गएराति घर धनिकै आँगनमा लगेर राखिछाडेको भेटिएको बुद्धबीर वलीका छोरा प्रेम वलीले जानकारी दिनुभयो ।
नगद र तिलहरी चोरी भइसकेपछि प्रहरीकोमा उजुरी दिएको उहाँले जानकारी दिनुभयो । “घरमा भएको तिलहरी र नगद पैसा चोरी भएपछि हामीले प्रहरीकोमा उजुरी निवेदन दिएका थियौँ” उहाँले भन्नुभयो, “मङ्गलबार राति चोरी भएको तिलहरी र नगद ४५ हजारमध्ये चोरले गएराति तिलहरी र २३ हजार ३ सय ६० रुपियाँ घरको आँगनमा छोडेर गएछ, बाँकी पैसा पनि फिर्ता गरिदिए हुन्थ्यो ।”उहाँले भन्नुभयो ।
घरमा तिलहरी र नगद चोरी भएपछि बुद्धबीर वलीले खोजतलासका लागि बुधबार निवेदन दिनुभएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । चोरको खोजतलास तथा अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जानकारी दिएको छ ।







प्रतिक्रिया राख्नुहोस्