लिमीको चौकीमा ताला लगाएर सदरमुकाम फर्किए प्रहरी

हुम्ला (सिमकोट) । उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको सीमा सुरक्षा प्रहरी चौकी सुनखानीबाट प्रहरी सदरमुकाममा फिर्ता भएको छ। चिसो बढ्नु र हिउँदमा मानिसको आउजाउ नहुने भएपछि सो प्रहरी चौकी जिल्लामा फिर्ता भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश खरेलले कात्तिक तेस्रो हप्तापछि लिमीको सुनखानीको रहेको सीमा प्रहरी चौकीका प्रहरी जिल्लामा फिर्ता भएको बताउनुभयो।
हिमपात भएसँगै न्यालु नाका बन्द हुँदा लिमी आउजाउ बन्द हुने र हिउँदमा चिसोका कारण प्रहरीलाई बस्नसमेत कठिन हुने भएकाले चौकी बन्द गरेर प्रहरी जिल्लामा फिर्ता आएको हो।
हिमपातले बाटो बन्द भएपछि मानिस आउजाउ नहुने, मानिसका कुनै पनि चहलपहल नहुने र घटनासमेत नहुने भएकाले पनि प्रहरी चौकीका प्रहरी जिल्लामा फिर्ता भएको उहाँले बताउनुभयो।
गाउँभन्दा टाढा रहेको कारण चौकीका प्रहरीलाई राशन पानीको व्यवस्था गर्नसमेत कठिन हुने गरेको छ। हाल उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा नौ जना प्रहरी रहेको र सबै जना जिल्लामा आइपुग्नुभएको छ । यतिबेला जिल्ला फिर्ता भएको प्रहरी वैशाख–जेठमा मात्र चौकीमा फिर्ता हुनेछन्। लिमीका वडाध्यक्ष पाल्जोर तामाङले प्रहरी फिर्ता भएपछि चौकीमा ताला लगाएर बन्द गरिएको बताउनुभयो।
उहाँले चौकीको प्रहरी गएपछि लिमीका तीन गाउँमा कुनै घटना भए फोनबाट जानकारी गराउनुको अन्य विकल्प नभएको बताउनुभयो।







प्रतिक्रिया राख्नुहोस्