भेरी अस्पतालबाट भूकम्प १८ घाइते डिष्चार्ज, एकै दिन १३ जना घर फर्किए
नेपालगन्ज । जाजरकोट भूकम्पमा परी घाइते भएर नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत १३ जना एकै दिन डिष्चार्ज भएका छन् । जाजरकोटका ८ र रुकुम पश्चिमका ५ जना गरी १३ जना घाइतेहरू निको भई डिष्चार्ज भएका हुन् । शुक्रबार साँझ १३ जना डिष्चार्ज भएसँगै निको भएर घर फर्कनेको सङ्ख्या १८ पुगेको छ । यसअघि पाँच जना डिष्चार्ज भएका थिए ।
उनीहरुलाई सम्बन्धित जिल्लाको घर नजिकसम्म भेरी यातायात व्यवसायी सङ्घको समन्वयमा नि:शुल्क पठाइएको हो । बाँके युनेस्को क्लबले उपलब्ध गराएको चामल, दाल, तेल समेतको राहत प्याकेजसहित उनीहरूलाई घरतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी बाँकेका श्रावणकुमार पोखरेलले जानकारी दिनुभयो । उनीहरुलाई कम्मल र त्रिपाल पनि १-१ थान विपद व्यवस्थापन समितिले उपलब्ध गराएको छ ।
अब भेरी अस्पतालमा जाजरकोट भूकम्पका ३६ जना उपचाररत छन् । ५८ जना उपचारका लागि भर्ना भएकोमा ३ जनालाई काठमाडौँ रिफर गरिएको छ भने एक जनाको मृत्यु भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्