ढकमक्क सयपत्री फुलाउँदै कचनापुर साना किसान सहकारी

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं २ स्थित साना किसान कृषि सहकारी संस्थाले पुष्प खेती गरी ढकमक्क सयपत्री फुल फुलाएको छ । सहकारीले गरेको पुष्पखेती देख्दा तिहार आएको महसुस हुन्छ सयपत्रीको वासना चल्न थाल्न थालेको छ । तिहारमा फुलको माग अन्य समयमा भन्दा बढी हुन्छ । तिहारलाई मध्यनजर गर्दै सयपत्री फुल खेती गरिएको सहकारीका मुख्य प्रबन्धक अमर राज गौतमले बताउनुभयो।
कृषि क्षेत्रमा पनि केही नयाँ काम गरौँ भनेर सयपत्री फुलको खेती गरेको गौतमको भनाई छ। उहाँका अनुसार सहकारीले ८ बिगाहा जग्गा ठेक्कामा लिई अन्य खेती सँगै करिब ३ कट्ठामा क्षेत्रफलमा व्यावसायिक रुपमा फुल खेती गरेर बिक्री तथा आम्दानी गर्न थालेका छन् । हामीले करिब ३ लाख रुपैयाँको लगानीमा सयपत्री फुल उत्पादन गरेका छौ अहिले कोहलपुर नेपालगन्जका शहरहरुमा फुल खपत भइरहेको छ । स्थानीलाई रोजगारी समेत दिएका छौ गौतमले भन्नुभयो । सहकारीले हाल प्रतिकिलो ३ सय रुपैयाँका दरले सयपत्रीको फुल बिक्री गर्दै आएको छ ।

पहिलो पटक गरिएको सयपत्री फुल खेतीबाट १२ क्विन्टल सयपत्रीको फुल उत्पादन हुने सहकारीको अनुमान छ । हरेक वर्ष झैँ यस वर्ष पनि माग बढ्दो हुन थालेपछि सहकारी फुल उत्पादनमा जुटेको छ । विशेष गरी भारतीय बजारबाट आयातित हुने फुलको मागलाई निषेधित गर्ने र बाँके जिल्लामै उत्पादन गरिएका फुललाई बजारीकरणमा जोड दिने सहकारीले राम्रो सुरुवात गरेको छ ।
हिन्दू धर्म मान्नेहरूका लागि त तिहारमा सयपत्री नभई नहुने फूल हो । यो बेला फूलको उच्च माग हुने गर्छ । सभा सम्मेलन गोष्ठी र सम्मानका लागी प्रयोग गरिने फुलहरूको संरक्षण संवर्द्धनका लागी फुल खेती तर्फ सहकारी जुटेको सहकारीका अध्यक्ष दीर्घ बहादुर बुढाथोकीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्