कोहलपुर गोल्ड कपको उपाधि त्रिभुवन आर्मी क्लबले उचाल्यो

नेपालगञ्ज । कोहलपुर गोल्ड कपको उपाधि त्रिभुवन आर्मी क्लबले उचालेको छ । बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्ड कप फुटबल प्रतियोगिता को उपाधिका लागि आज भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई २–० गोल अन्तरले स्तब्ध पार्दै त्रिभुवन आर्मी क्लबले उपाधिमाथि कब्जा जमाएको हो ।
उपाधिसँगै आर्मीले नगद ८ लाख रुपैयाँ र ट्रफी हात पारेको छ । प्रतियोगिताको उपविजेता मै सीमित चर्च ब्वाइजले भने ४ लाखमै चित्त बुझाएको छ । चर्च ब्वाइजले गोर्खा व्वाइज स्पोर्ट्स क्लब र त्रिभुवन आर्मीले दुधौली स्पोर्ट्स क्लबलाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका थिए ।
प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसीसहित नेपालका चर्च व्वाइज युनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्ट्स क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेको आयोजक रेसिङ साहारा क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्रीले जानकारी दिनुभयो ।
कार्तिक १५ गतेदेखि सुरु भएको प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्