राहत बोकेको चिनियाँ सेनाको जहाज पोखरामा
कास्की। भूकम्पपीडितका लागि राहत बोकेको चिनियाँ जनमुक्ति सेनाको जहाज पोखरामा अवतरण गरेको छ ।
आज बिहान चिनियाँ सेनाका दुई जहाज राहत सामग्रीसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । चिनियाँ सेनाको जहाजसँगै कार्गो विमान पनि विमानस्थलमा अवतरण भएको छ।
१ लाख ७९ हजार किलो राहत सामग्री बोकेर चिनियाँ जनमुक्ति सेनाको जहाज बिहान छेन्दुबाट पोखरा आएको हो ।राहत सामग्री पोखरामा झारेपछि नेपाली सेनाको स्काइ ट्रकले यहाँबाट रुकुम पश्चिम र नेपालगन्ज पुर्याउने छ ।
विमानस्थलमा ती सामग्री हस्तान्तरण र बुझ्न बिहान गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत छेन सोङ्ग काठमाडौँबाट पोखरा आउनु भएको छ।

उत्तरी छिमेकी राष्ट्र चीनले दुई चरणमा भूकम्प पीडितका लागि राहत घोषणा गरिसकेको छ। यसअघि प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको चीनले मङ्गलवार थप २८ करोड बराबरको राहत घोषणा गरेको हो।
यसअघि पहिलो खेपमा राहत सामग्री बोकेका ट्रकहरू सोमबार केरुङ हुँदै नेपालको रसुवागढी नाकाबाट काठमाडौँतर्फ आइसकेको छ।
राजदूत सोङका अनुसार मङ्गलवार घोषणा भएको १३ मिलियन आरएमबी अर्थात् नेपाली १ करोड ३३ लाख १० हजार ६० रुपैयाँ सहयोग दिने भएको छ।







प्रतिक्रिया राख्नुहोस्