उपप्रधानमन्त्री श्रेष्ठसँग फ्रिडम फन्डका पदाधिकारीको भेट
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग फ्रिडम फन्डका पदाधिकारी तथा प्रतिनिधिहरूले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपाल सरकारका प्राथमिकता र फ्रिडम फन्डले गर्नसक्ने सहयोगका बारेमा छलफल भएको थियो ।

श्रमिक एवं कामदारमाथि हुने घरेलु, लैङ्गिक र आर्थिक हिंसा विरोधी अभियानमा सामाजिक संस्थामार्फत सहयोग पुर्याउँदै आएको फ्रिडम फन्डले नेपाल सरकार सँगसमेत सहकार्यको प्रस्ताव गरेको थियो । त्यस क्रममा टोली प्रमुख नताशा डोल्बीले अनुचित लेनदेन (मिटरब्याज) नियन्त्रणसम्बन्धी कानुन निर्माण र लागू गरेकामा उपप्रधानमन्त्री श्रेष्ठप्रति आभार व्यक्त गर्नुभएको थियो ।
उपप्रधानमन्त्री श्रेष्ठले कृषि, जलविद्युत्, पर्यटन र जडीबुटी गरी नेपालको विकासका मुख्य चार क्षेत्रमा सहकार्य जरुरी रहेको बताउनुभयो । राजनीतिक परिवर्तनलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा एकाकार गर्ने मूल लक्ष्यमा वर्तमान सरकारको मूल जोड रहेको र सबै सहकार्य र सहयोग त्यसैमा केन्द्रित होस् भन्ने चाहना आफूहरूको भएको उहाँले बताउनुभयो ।
सन् २०२६ देखि नेपाल विकासशील देशमा स्तरोन्नति हुने भएकाले पनि भौतिक र सामाजिक विकासको रफ्तारलाई अघि बढाउन सहयोगको खाँचो रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । टोली प्रमुख र प्रतिनिधिहरूले राजनीतिक परिवर्तन र भौतिक विकासलाई सामाजिक न्यायसहित अगाडि बढाउने सरकारको प्राथमिकताको प्रशंसा गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्