तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपतिद्वारा युएईप्रति आभार व्यक्त

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ठूलो सङ्ख्यामा नेपाली श्रमिकलाई रोजगारीको अवसर उपलब्ध गराएकामा संयुक्त अरब इमिरेट्स (युएई) सरकारप्रति आभार प्रकट गर्नुभएको छ ।

उपराष्ट्रपति कार्यालय लैनचौरमा आज नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अल शाम्सीसँगको भेटमा उहाँले युएईले स्वास्थ्य, शिक्षा, अन्तरिक्ष प्रविधि, ऊर्जा, कृत्रिम बौद्धिकता र नवप्रवर्तन लगायतको क्षेत्रमा हासिल गरेको प्रगतिका लागि बधाई दिनुभयो ।

नेपालमा भव्य प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव, आतिथ्य र विविध साहसिक पर्यटनका अवसर रहेको उल्लेख गर्दै उहाँले व्यस्त आधुनिक शहरी जीवनभन्दा फरक ढङ्गले बिदा मनाउन इमिराती पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्य बन्न सक्ने बताउनुभएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सो अवसरमा राजदूत अल शाम्सीले नेपालको जाजरकोट र रुकुम पश्चिममा हालै गएको भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भूकम्पपछिको पुनः निर्माणमा आफ्नो मुलुकले सहयोग गर्न चाहेको बताउनुभयो ।

राजदूत अल शाम्सीले दुई मुलुकबीच उच्चस्तरीय भ्रमणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै आफूले बढीभन्दा बढी इमाराती पर्यटकलाई नेपाल भित्र्याउन प्रयास गर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button