पर्यटकको रोजाइ बन्दै देवचुलीको ‘कुमसोत’

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका –६, मा अवस्थित कुमसोत पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको छ ।
कुनै समय विकट पहाड भनेर चिनिने कुमसोत अहिले पर्यटकको रोजाइमा पर्न थालेको छ ।
देवचुली, कावासोती र हुप्सेकोट गरि तीन पालिकालाई जोड्ने यो स्थानमा हिजो आज दैनिक रुपमा भ्रमणमा पुग्नेको सङ्ख्या बढ्दो छ । पूर्व पश्चिम राजमार्गदेखि करिब ९ किलोमिटर उत्तरमा कुमसोत अवस्थित रहेको छ । राजमार्ग देखिको नजिकको पहाडी क्षेत्रका रुपमा रहेको यहाँबाट नवलपुरको उत्तरतर्फ रहेका पहाडी भूभाग, जिल्लाकै अग्लो स्थान देवचुली डाँडो, दक्षिण तर्फ नवलपुरको समथर भूभाग, राजमार्ग आसपासका घना बस्ती सहज रुपमा अवलोकन गर्न सकिन्छ । यसका साथै चितवनका भूभाग, चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी, राप्ती नदीको मनोरम दृश्य समेत सहज रुपमा अवलोकन गर्न सकिने भएकाले कुमसोत आन्तरिक तथा छिमेकी जिल्लाका पर्यटकको गन्तव्य बन्दै गएको छ ।
देवचुली नगरपालिकाको दुर्गम गाउँ भनेर चिनिने यहाँ सडक, विद्युत्, खानेपानीको उपलब्धताले यहाँको विकासमा टेवा पुर्याएको देवचुली नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मीन बहादुर सोतीले बताउनुभयो ।
बिदाको दिन तथा चाडपर्वको समयमा कुमसोतमा उल्लेख्य रुपमा आन्तरिक पर्यटक आउने गरेको वडा अध्यक्ष सोतीले बताउनुभयो ।
आन्तरिक र बाह्य पर्यटक भित्राउन योजना बनाई काम गरिरहेको वडा अध्यक्ष सोतीले बताउनुभयो । सोतीका अनुसार मगर समुदायको बस्ती रहेको कुमसोत र नजिकै रहेको कीर्तिपुरमा मगर कला संस्कृति जगेर्ना गर्ने, कुमसोत कीर्तिपुर हुँदै नवलपुरको अग्लो पहाड जाने बाटोको स्तरोन्नति गर्ने योजनाका साथ काम अघि बढाइएको छ । प्राकृतिक मनोरम स्थल भएकाले यसलाई पर्यटनसँग जोड्ने र पर्यटनलाई आर्थिक उपार्जनसँग जोड्दै जाने आफूहरूको योजना रहेको उहाँले बताउनुभयो । कुमसोत र जिल्लाकै अग्लो डाँडो देवचुलीको काखमा पर्ने कीर्तिपुरको विकासको प्रमुख आधार पर्यटन हुन सक्ने भएकाले सोही अनुसारका कामहरू वडा तथा नगर स्तरबाट बढाउँदै लैजाने वडा अध्यक्ष सोतीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्