भूकम्पका गम्भीर घाइतेलाई नेपालगञ्ज ल्याउन सुरु, केहीको उपचार चल्दै

नेपालगञ्ज। जाजरकोट केन्द्रबिन्दु भएर गएराती गएको भूकम्पमा परी गम्भीर घाइते भएकाहरूलाई थप उपचारका लागि नेपालगञ्ज ल्याउन सुरु गरिएको छ । केही घाइतेलाई नेपालगञ्ज ल्याई उपचार सुरु गरिएको छ ।
भूकम्प जाने बित्तिकै जाजरकोट र रुकुम पश्चिममा मानवीय क्षतिसँगै थुप्रै मानिसहरू घाइते भएकाले प्रारम्भिक उपचारपछि नेपालगञ्ज ल्याउन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

भूकम्पमा परी गम्भीर घाइतेहरूको उपचारका लागि नेपालगञ्जको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालमा आवश्यक पूर्व तयारी तथा व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार भेरी अस्पताल, सैनिक अस्पताल, प्रहरी अस्पतालमा १ सय बढी बेड तयारी अवस्थामा रहेको र पर्याप्त चिकित्सक, नर्सिङ स्टाफ र स्वास्थ्यकर्मी समेत तयारी अवस्थामा राखिएको छ । घाइते तथा घाइते आफन्तका लागि सहजताका लागि स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठलाई तोकिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।
हेलिकप्टरबाट आउने बिरामीका लागि राँझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा दुई दुई वटा एम्बुलेन्स तैनाथ गरिएको पोखरेलले बताउनुभयो । उहाँका अनुसार रगतको मौज्दात र अपुग अवस्थामा फ्रेस रगत आपूर्तिका लागि रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको छ ।
भूकम्पमा परी गम्भीर घाइते जाजरकोट भेरी नगरपालिका वडा नम्बर ३ खलङ्गाका ४८ वर्षीय विमलकुमार कार्कीको भेरी अस्पतालमा पहिलो बिरामीको रुपमा उपचार शुरु भएको अस्पतालले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्