तपाईँ सुन्दै हुनुहुन्छः

बोक्सी आरोपमा दलित परिवारमाथि नै आक्रमण

महोत्तरी । महोत्तरीमा बोक्सी आरोपमा एक दलित महिलासहित उनका परिवारका सदस्यमाथि कुटपिट भएको छ । मङ्गलवार गौशाला नगरपालिका-११का स्थानीय ६६ वर्षीया एतवरिया देवी रामसहित परिवारका ६ सदस्यहरूमाथि कुटपिट गरिएको हाे  ।

कुटपिटबाट एतवरिया देवी रामको, श्रीमान् रामचन्द्र राम, छोराहरू देवेन्द्र राम र सुरेन्द्र राम तथा बुहारीहरू सम्तोलिया देवी र सुन्दर देवी घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीप कुमार गिरीले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार कुटाइबाट एतवरिया देवीको बायाँ हात भाँचिनुका साथै शरीरभर चोट लागेको छ, सुरेन्द्रको टाउको फुटेर ६ टाँका लगाउनुपरेको छ, सम्तोलिया देवीको कम्मरमा गम्भीर चोट लागेको छ भने देवेन्द्रको पनि शरीरभर चोट छ । एतवरिया र सम्तोलियाको जनकपुरस्थित सहयोगी अस्पतालमा उपचार भइरहेको छ । देवेन्द्र र सुरेन्द्रको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार गौशाला –११, लक्ष्मीनियाका चन्द्रशेखर यादव, सन्तोष यादव, विनोद पासमान र राम केवल भनिने केवल महतो नुनियाले आक्रमण गरेकोमध्ये सन्तोष यादव र विनोद पासमानलाई बुधबार पक्राउ गरेको छ ।

पीडित पक्षको जाहेरी लगत्तै उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूविरुद्ध बोक्सी आरोपमा गरेको कुटपिट कसुरमा मुद्दा दर्ता भई अदालतबाट समेत म्याद लिएर अनुसन्धान भइरहेको र मलमूत्र खुवाउने धम्कीसमेत दिएको प्रारम्भिक जानकारी पाएका छौँ, प्रवक्ता गिरीले बताउनुभयो  ।

गम्भीर चोटपटक लाग्ने गरी पछिल्लो आक्रमण मङ्गलवार (१४गते कात्तिक) को हो ।

त्यसअघि २७ गते असोज (घटस्थापनाको अघिल्लो दिन)मा उनीहरूमाथि पहिलो आक्रमण भएको थियो । स्थानीयहरूका अनुसार २६ असोजमा स्थानीय राम केवल महतो नुनियाले सोही ठाउँका ‘धामी’ विनोद पासमानलाई बोलाएर बैठक झार/फुक  (धामी खेलाउन स्थान) राखेका थिए । सोही बैठकमा राम केवलकी अन्दाजी १७ वर्षीया छोरी लीलावती कुमारीको शरीरमा (देवी चढेको उर्खेको) खेलाउँदै भन्दै बर्बराएकी लीलावतीले एतवरिया देवीले मरिसकेको सासूको आत्मालाई कब्जामा राखेर बोक्सीको काम गर्ने गरेको र छरछिमेकका बालबालिकालाई बिरामी पार्ने गरेको आरोप लगाउँदै बैठकबाट खेलाउँदै एतवरिया देवी रामको घरमै सुतिरहेको अवस्थामा कपाल समातेर रोडमा लछारपछार गर्दै घिसारेर कुटपिट गरेको थिए ।

घटनाको भोलिपल्टै एतवरियाका श्रीमान् राजेन्द्रले इलाका प्रहरी कार्यालय गौशालामा निवेदन दिएका थिए । प्रहरीले निवेदन अस्पष्ट भएको भन्दै झन्डै २१ दिनको म्याद राखेर १८ कात्तिकका लागि (शनिबार) छलफलमा बोलाएको थियो । प्रहरीले पहिलो घटनालगत्तै दोषीलाई कारबाही प्रक्रियामा नल्याउँदा पीडित परिवारमाथि दोस्रोपटक गम्भीर आक्रमण भयो ।

मङ्गलवार उनीहरूले पीडित परिवारका सदस्यहरू गम्भीर घाइते हुने गरी आक्रमण गरे । दोस्रो घटनापछि मात्रै प्रहरीले दुई आरोपीलाई पक्राउ गर्नु भएको छ । किटानी जाहेरी परेका सन्तोष यादव र विनोद पासमानलाई पक्राउ गरिसकेको र चन्द्रशेखर यादव र केवल महतोलाई खोजिकार्य जारी रहेको प्रवक्ता गिरीले बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button