तपाईँ सुन्दै हुनुहुन्छः

इनास नेपालको अध्यक्षमा सञ्चारकर्मी पाण्डेय निर्वाचित

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपालको अध्यक्षमा लोकप्रिय गीतकार एवं सञ्चारकर्मी दयाराम पाण्डेय निर्वाचित हुनु भएको छ।

काठमाडौँमा बुधवार सम्पन्न इनास नेपालको अधिवेशनबाट पाण्डेय सन् २०२३-२०२५ को लागि सर्वसम्मत निर्वाचित भएको हो । पाण्डेय यसअघि इनास नेपाल तदर्थ समितिको संयोजक समेत हुनुहुन्थ्यो। 

त्यस्तै इनास नेपालको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्देशक ऋषि लामिछाने, देवकुमार श्रेष्ठ र सङ्गीतकार अर्जुन पोखरेल निर्वाचित हुनुभएको छ । महासचिवमा खेलाडी एवं गीतकार बलराम मित्र, सचिवमा प्रोडक्सन डिजाइनर शङ्कर पाण्डे र कोषाध्यक्षमा चलचित्र वितरक सुनिल मानन्धर सर्वसम्मत हुनु भएको हो ।

त्यसै गरी कार्यसमिति सदस्यहरूमा नायक पुष्प खड्का, नरेन खड्का, गायक युवराज चौलागाईं, गायिका माण्डवी त्रिपाठी, नृत्य निर्देशक कविराज गहतराज, निर्देशक रामशरण घिमिरे, कल्पना आचार्य, पूर्ण लामा, भूमिका शाह, कृष्ण के सी, विबुध लुइँटेल र सुरेन्द्र  श्रेष्ठ निर्वाचित भएका हुन् । 

निर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक अधिवक्ता सेमन्तमणि खरेलले शपथ ग्रहण गराउनुभएको थियो ।

उक्त अवसरमा नवनिर्वाचित अध्यक्ष पाण्डेयले आफ्नो प्रतिबद्धता पत्र प्रस्तुत गर्दै पुरानो कार्यसमितिका सम्पूर्णलाई बधाई ज्ञापन गर्दै नयाँ कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई स्वागत समेत गर्नुभयो। “एक्लैले केही गर्न सकिँदैन”, अध्यक्ष पाण्डेयले बताउनुभयो संस्था-सङ्गठन भनेको टिमवर्कले अगाडि बढ्ने हो, त्यसैले सबै सँगै एक ढिक्का भएर अगाडि बढौँ।”

इनास ग्लोबलका अध्यक्ष पुष्प बरुवालले  नयाँ कार्यसमितिको अगाडि ठुलो चुनौती रहेको र नयाँ टिम हेर्दा आफू निकै आशावादी भएको बताउनुभयो ।

वहाँले भन्नुभयो,” यो टिमले पक्कै राम्रो गरेर इनासलाई नयाँ उचाइमा पुर्‍याउनेछ।”

सो अवसरमा इनास ग्लोबल वरिष्ठ  उपाध्यक्ष रामचन्द्र थापा, उपाध्यक्षद्वय अर्जुन काफ्ले, सावु गदाल, कोषाध्यक्ष कुलराज थापा र एशिया संयोजक लोकराज अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिनुभएको थियो ।

नेपाली कला, संस्कृति, चलचित्र, सङ्गीतको समृद्धिको लागि स्थापित यस संस्थाको केन्द्रीय कार्यालय नेदरल्यान्डस् मा रहेको छ भने हाल विश्वका ७३ वटा देशमा यसको शाखा बिस्तार भैसकेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button