जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय समुदायमा अपिल गर्ने महासचिव गुटेरेसको आश्वासन

पोखरा । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई कास्कीको अन्नपूर्ण गाउँपालिका स्थानीयले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न आग्रह गर्नु भएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं.११ (साविक घान्द्रुक गाविस) मा पर्ने अन्नपूर्ण आधार शिविर (एबीसी) मा आज(मङ्गलवार) बिहान महासचिव गुटेरेसलाई स्वागत गर्दै स्थानीयले जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा पर्न थालेकोले त्यसलाई न्यूनीकरण गर्न आवश्यक पहल गर्न माग गर्नु भएको हो । जलवायु परिवर्तनको असरबारे प्रत्यक्ष अनुभव गर्न र स्थानीयसँग कुरा गर्नका लागि एबीसी पुग्नु भएको महासचिव गुटेरेसलाई स्थानीयले झाँकी सहित स्वागत गर्नु भएको थियो । उहाँको स्वागतको लागि एविसीमा छुट्टै हेलिप्याड बनाइएको स्थानीय भरत गुरुङले बताउनु भयो ।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसी सहितको टोलीले महासचिव गुटेरेस समक्ष जलवायु परिवर्तनका समग्र असरबारे जानकारी गराउँदै जलवायु परिवर्तन बाट प्रभावित क्षेत्रलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, विकास र समृद्धिमा साथ सहयोग गर्नुपर्ने र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने सम्बन्धि ध्यानाकर्षण गराउनु भएको हो । वडाध्यक्ष हिम गुरुङले पहिलाका चरन क्षेत्र र हिमाल भन्दा तल्लो क्षेत्रका बस्तीमा जलवायु परिवर्तनले मानव जीवनलाई समस्यामा पार्न थालेको उल्लेख गर्नु भयो ।
उक्त अवसरमा महासचिव गुटेरेसले जलवायु परिवर्तनको मुख्य कारक ठुला शक्ति राष्ट्रहरू भएको बताउँदै ठुला शक्ति राष्ट्रहरूले नेपाल जस्तो कम विकसित र जलवायु परिवर्तन बाट प्रभावित राष्ट्रहरूको विकासमा सहयोग गर्नुपर्ने बताउनु भयो । जलवायु परिवर्तनमा नेपाल जस्तो राष्ट्रहरूको कुनै दोष नरहेको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनको असरले नेपाल जस्तो देशले भोग्नुपरेको समस्या अन्तर्राष्ट्रिय फोरममा राख्ने र साथै यस क्षेत्रको विकास र समृद्धिको लागि आफ्नो ठाउँ बाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
यसैबिच, पोखराका पत्रकार माझ मङ्गलवार बिहान संक्षिप्त पोखरा विमानस्थलमा सम्बोधन गर्दै महासचिव गुटेरेसले जलवायु परिवर्तनकै कारण धेरै ठाउँमा भूस्खलन भएको बताउनु भयो । जलवायु परिवर्तनले गर्दा धेरै समुदायमा जुन गहिरो रूपमा परेको नकारात्मक असर छ यसलाई आफूले अन्तर्राष्ट्रिय फोरमहरूमा अपिल गर्ने समेत उल्लेख गर्नु भयो । जलवायु परिवर्तनका कारण प्रभावित समुदायका लागि विश्वस्तबाटै प्रभावकारी कदम चाल्नुपर्ने उहाँको भनाई थियो । महासचिव गुटेरेसले हामीले प्राकृतिक सौन्दर्यका हिमालहरू ,हिमनदी र वन जङ्गलको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । जलवायु परिवर्तनका कारण बढी प्रभावित भएको नेपाललाई विश्वका शक्तिशाली राष्ट्रहरूको केही न केही योगदान हुनु पर्ने उहाँको भनाई थियो ।
जलवायु परिवर्तनको असरलाई कम गर्न प्रभावकारी ऐक्यबद्धता आवश्यक रहेकोमा जोड दिँदै महासचिव गुटेरेसले आफूले अध्ययन अवलोकन गर्दा स्थानीयहरुसंगको प्रत्यक्ष असर सुन्ने अवसर मिलेको र आफैले देखेका कारण जलवायु परिवर्तनको कारणले नेपाल धेरै प्रभावित हुन थालेको बताउनु भयो ।
सोमबार पोखरा विमानस्थलमा काठमाण्डौबाट नेपाली सेनाको हेलिकोप्टरमा आउनु भएको महासचिव गुटेरेसलाई पोखरामा भव्य स्वागत सत्कार गरिएको थियो । त्यसै गरी सोमबार उहाँ पोखराको नयाँ पर्यटकीय गन्तव्य पोखरा २२ मा रहेको विशाल महादेवको मूर्ति अवलोकन गर्नु भएको थियो भने बेलुका साँझ पोखराको फेवातालमा डुङ्गा सयर समेत गर्नु भएको थियो ।
पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्र बहादुर थापा, पोखराका मेयर धनराज आचार्य, पुम्दीकोट कोट बिकास समितिका अध्यक्ष चन्द्रकान्त बराल, पोखरा २२ का वडा अध्यक्ष हिमलाल बराल, नेपाल पत्रकार महासघ कास्कीका अध्यक्ष बिमला भण्डारीले मायाको चिनो हस्तान्तरण गर्दै बिदाइ गर्नु भएको थियो । नेपाली सेनाको हेलिकोप्टरबाट महासचिव गुटेरेस भैरहवा प्रस्थान गर्नु भएको थियो ।
महासचिव गुटेरेस पोखरा आउँदा सोमबार मौसमले साथ नदिँदा पोखराबाट कस्तो हिमश्रृखला देख्न सकिन्छ भन्ने कौतुहलतालाई आज(मङ्गलवार) बिहानै देखि पोखराको मौसम खुलेसँगै त्यसको अनुभूति लिन पाउनु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्