दशैको समयमा बर्दियाको ठाकुरद्वारामा बढे आन्तरिक पर्यटक
बाँके ।वडा दसैँको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनका लागि आउने पर्यटकहरूका कारण ठाकुरद्वारा क्षेत्रका होटल र होमस्टे भरिएका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार शुक्रवारसम्म आन्तरिक र बाह्य गरी १ हजार ५ सय ८५ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । निकुञ्ज भ्रमण गर्न आउनेहरूमा नेपाल, भारतसहित सार्क राष्ट्रसहित अन्य देशका पर्यटक छन् । निकुञ्ज अवलोकन गर्नेहरूमा सार्क मुलुकका १७ जना र विदेशी ४ सय ४६ जना छन् भने स्वदेशी १ हजार १ सय २२ जना रहेका छन् ।
अघिल्लो वर्षको वडा दसैँ पर्वसहित एक महिनाको अवधिमा १ हजार ४ सय ८६ जनाले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गरेका थिए । पर्यटकको आगमन बढेसँगै निकुञ्जको राजस्वमा समेत वृद्धि भएको छ ।
प्रायजसो पर्यटकहरू निकुञ्जभित्र पाटेबाघ देख्न पाएपछि खुसी भएका छन् । इजरायल, फ्रान्स, अमेरिका, भारतलगायतका देशबाट बर्दिया निकुञ्ज अवलोकनका लागि आएका पर्यटक बाघ देख्न पाएपछि दङ्ग छन् ।
बर्दिया निकुञ्ज अवलोकनका लागि आएका पर्यटकले नेपालको चितवनमा मात्र बाघ देख्न पाइने सुने पनि त्यहाँ भन्दा बर्दिया निकुञ्जमा आफूहरूले दिनहुँ बाघ देखेको बताएका छन् । दिनहुँ बाघ देख्न पाएकै कारण कतिपय पर्यटक अन्त घुम्न जान छाडेर बर्दियामै दिन बिताउन थालेको पर्यटन व्यवसायी रामजी थापाको भनाई रहेको छ।उहाँका अनुसार कोभिडका कारण थलिएको पर्यटकीय गतिविधि बाघलगायतका वन्यजन्तु अवलोकन गर्न पाइने भएकाले बर्दियामा पर्यटकीय गतिविधि बढेको हो ।
बाघ लगायत अन्य वन्यजन्तु अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटकहरू बर्दिया निकुञ्ज अवलोकनका लागि आउने क्रम बढ्न थालेकोमा पर्यटन व्यवसायीहरू पनि खुसी भएको पर्यटन व्यवसायी पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण भट्टराईको भनाई रहेको छ।उहाँले बाघ सहजै हेर्न पाइने भएकाले पनि पर्यटकको गन्तव्य बर्दिया निकुञ्ज बन्दै गएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्