राजनीतिक दल र राज्यका संस्थाप्रति आम नागरिकको विश्वास घटेको छैन : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरूप्रतिको आलोचनालाई सकारात्मक रुपमा लिएको बताउनुभएको छ ।

बडादसैँ, तिहार, नेपाल संवत् र छठ लगायत पर्वका अवसर पारेर काँग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै उहाँले भन्नुभयो, “दलहरूप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु ।”
राजनीतिक दलहरूले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सबै राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “ राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन ।”

कांग्रेस पार्टीभित्र बेमेल भइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले पार्टीभित्र बेमेल रहेको कुरा सत्य होइन भन्नुभयो । उहाँले भन्नुभयो, “दलभित्रको फरक मत हुन सक्लान्, यसलाई हामीले व्यवस्थापन गरिरहेका छौँ ।”
सो अवसरमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्कटका बेला दलहरू हातेमालो गर्दै अगाडि बढेको विगतका घटना स्मरण गर्दै अबका चुनौतीलाई हल गर्न पनि एक हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दलबीच सद्भाव बाँड्ने परम्पराका रुपमा चियापान कार्यक्रम हुँदै आएको उल्लेख गर्दै चियापानले दलहरूप्रति संवाद आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभयो ।

शुभकामना आदानप्रदान कार्यक्रममा सभामुख देवराज घिमिरे, पूर्व सभामुख द्वय दमननाथ ढुङ्गाना र अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत चेन सङलगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।







प्रतिक्रिया राख्नुहोस्