डडेल्धुरामा जेसीज सप्ताह हुँदै, भलिबल प्रतियोगिता पनि हुने
डडेल्धुरा । डडेल्धुरामा जेसीज सप्ताह कार्यक्रम सञ्चालन हुने भएको छ । डडेल्धुरा जेसीजको आयोजनामा कात्तिक १२ गतेदेखि १८ गतेसम्म जेसीज सप्ताह कार्यक्रम सञ्चालन गरिने भएको हो ।

जेसीज सप्ताहअन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरिने शुक्रबार पत्रकार सम्मेलन गर्दै डडेल्धुरा जेसीजले जानकारी दिएको छ । डडेल्धुरा जेसीजका अध्यक्ष भोजराज अवस्थीका अनुसार जेसीज सप्ताहमा जिल्लास्तरीय खुला भलिबल प्रतियोगिता पनि गरिने भएको छ । ‘कात्तिक १६ गतेदेखि हुने भलिबल प्रतियोगिताका लागि टिम दर्ता शनिबारदेखि सुरु हुने छ,’ डडेल्धुरा जेसीजका अध्यक्ष अवस्थीले भन्नुभयो, ‘भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार १११, द्वितीय पुरस्कार २५ हजार १११ र तृतीय पुरस्कार १५ हजार १११ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र रहेको छ । उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।’
अमरगढी नगरपालिका–८ को वडा कार्यालय नजिक रहेको डडेल्धुरा मेडिकल कलेजको जग्गामा रहेको भलिबल कोर्टमा प्रतियोगिता हुनेछ ।
अध्यक्ष अवस्थीका अनुसार जेसीज सप्ताह १२ गते बिहान ८ बजे उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ भने सोही दिन रक्तदान कार्यक्रम पनि राखिएको छ । यस्तै १३ गते दिउसो ३ बजे डडेल्धुरा बसपार्कमा म्युजिक चियर्स र घैँटो फुटाउने कार्यक्रम राखिएको छ ।
‘१४ गते गन्यापधुरा गाउँपालिकाको कार्यालय गणेशपुरमा निःशुल्क आँखा चेकजाँच तथा औषधि वितरण कार्यक्रम राखेका छौँ,’ अध्यक्ष अवस्थीले भने, ‘१५ गते बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म निःशुल्क दन्त स्वास्थ्य सल्लाह, उपचार तथा औषधि वितरण कार्यक्रम अमरगढी नगरपालिका वडा नम्बर २ मा राखेका छौँ ।’ १६, १७ र १८ गते भलिबल प्रतियोगिता सञ्चालन हुनेछ भने १८ गते जेसीज सप्ताह समापन कार्यक्रम पनि राखिएको छ ।







प्रतिक्रिया राख्नुहोस्