मिछुर्लङमा दसैँ पर्यटन मेला
दमौली । तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लङमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाँचौँ मिछुर्लङ दसैँ पर्यटन मेला सुरु भएको छ ।
मेलाको शुभारम्भ गर्नुहुँदै भिमाद–५ वडाध्यक्ष पदमबहादुर थापाले मिछुर्लङ पर्यटनमा सम्भावना बोकेको ठाउँ भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको बताउनुभयो । उहाँले यस ठाउँको पर्यटन विकासका लागि स्थानीयवासीको सक्रियता रहँदै आएको नगरपालिकाका तर्फबाट पनि सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
तेस्रो नेत्र युवा संस्थाको आयोजनामा सुरु मेला आगामी कात्तिक ११ गतेसम्म सञ्चालन हुनेछ । मेलाकै अवसरमा जुनियर पुरुष भलिबल प्रतियोगिता समेत सुरु भएको छ । मगर जातिको बाहुल्य रहेको मिछुर्लङको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको संस्थाका सचिव अमृत थापाले जानकारी दिनुभयो ।
मेलाको अवसरमा मिछुर्लङ होमस्टे अवलोकन, मिछुर्लङ भ्यु टावरबाट दृश्य अवलोकन, मगर लाफा भिलेजको अवलोकन समेत गराइनेछ । भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
मिछुर्लङ गाउँका अतिरिक्त यही नजिकै रहेको मगर भिलेज रिसोर्ट पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । यहाँ दृश्यावलोकन केन्द्रसमेत बनाइएको छ । ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित यहाँ दृश्यावलोकन स्तम्भ (भ्यु टावर) निर्माण गरिएको हो । देश तथा विदेशमा रहेका नेपालीहरूबाट सङ्कलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न भएको हो ।
मगर समुदायको कौरा, झ्याउरे, अर्ग्यानिक परिकार मिछुर्लङको विशेषता हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मिछुर्लङमा झरना पनि छ । उक्त झरनामा एकपटक क्यानोनिङ समेत सञ्चालन गरिसकिएको छ ।







प्रतिक्रिया राख्नुहोस्