तपाईँ सुन्दै हुनुहुन्छः

इजरायलमा ज्यान गुमाएका बिष्टको महाकाली आर्यघाटमा अन्त्येष्टि

कञ्चनपुर । अध्ययनका लागि इजरायल गएको एक महिना नबित्दै हमासको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये ४ जनाको शव आइतबार साँझ परिवारको जिम्मा लगाइएको थियो । तीमध्ये दार्चुलाका दीपेशराज बिष्टको भने कञ्चनपुर स्थित महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १५ निम्बुखेडा बस्ने दीपेशका काका पुष्पराज बिष्टले सोमबार हिन्दु परम्परा अनुसार दागबत्ती दिई अन्तिम दाहसंस्कार गरेका हुन् । त्यसअघि बिष्टको पार्थिव शरीरमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले माल्यार्पण गरेर श्रद्धाञ्जली दिएका थिए ।

दार्चुलाको लेकम जन्मथलो रहेका दीपेशले सानैदेखि काकाको सहारामा बसी महेन्द्रनगरमै शिक्षा आर्जन गरेका थिए । उनका बुवाको यसअघि नै मृत्यु भएको थियो । उनकी आमा पार्वती दार्चुलास्थित गाउँमै रहेको लटिनाथ मावि रिठाचौपाताकी शिक्षिका हुन् । दीपेशका भाइ वसन्तराज छात्रवृत्तिबाट धरान मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत छन् । दीपेश भने सिकाइसँगै कमाइ कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायबाट स्नातक तह आठौँ सेमेस्टरको अध्ययन पूरा गरी प्रयोगात्मक कक्षाका लागि भदौ अन्तिम साता इजरायल गएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button