बाँकेका ३१ स्थान सुरक्षाका दृष्टिले संवेदनशील
नेपालगन्ज । बाँकेका ३१ स्थान सुरक्षाका दृष्टिले संवेदनशील छन् । चाडपर्व लक्षित विशेष सुरक्षा योजनाको मुख्य रणनीतिक पक्षहरू सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालयले यस्तो जनाएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्लामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत जिल्लाभित्रका विभिन्न ३१ स्थानलाई संवेदनशील क्षेत्रका रूपमा पहिचान गरिएको बताउनुभयो । सम्भावित घटना हुन नदिन जिल्लाभित्र पहिचान गरिएका विभिन्न ३१ स्थानमा विशेष सुरक्षा सतर्कता अपनाइएको उहाँले जानकारी दिनुभयो । प्रजिअ पोखरेलका अनुसार उक्त स्थानमा २४ सै घण्टा नेपाल प्रहरीको पिकेट (७–८ जनाको प्रहरी टोली) रहनेछ ।
प्रजिअ पोखरेलले राजमार्गको सुरक्षा र सम्भावित उद्धारलाई फोकस गरेर सशस्त्र प्रहरीको थप २८ वटा पिकेट स्थापना गरी सुरक्षा प्रदान गरिने व्यवस्था मिलाइएको छ ।
जिल्लाको सुरक्षा व्यवस्था चुस्त पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक/एक वटा कमान्ड पोस्ट स्थापना भइसकेको, नेपाल प्रहरीको १६ वटा मोबाइल टोलीद्वारा २४सै घण्टा नै गस्ती गरिने व्यवस्था गरिएको, दुई जना प्रहरी निरीक्षकको कमान्डमा स्कर्टिङ ड्युटी परिचालन गरिएको, आकस्मिक उद्धार र मद्दतका लागि १० वटा क्विक रेस्पोन्स टिम स्ट्यान्ड बाई रहने व्यवस्था गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।
सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिने व्यवस्था गरिएको, कोहलपुर र नेपालगन्जमा जगेडा जनशक्ति तैनाथ राखिएको, यात्रुको सहजताका लागि यसअघि नै जमुनाहा नाका, नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरिसकिएको उहाँले जानकारी दिनुभयो ।
प्रजिअ पोखरेलका अनुसार लामो दूरीका सवारी साधनमा डबल चालक भए नभएको तथा चालक रिफ्रेस सेन्टर जस्ता पक्षमा समेत अनुगमन गरिने व्यवस्था पनि गरिएको छ ।
मुख्य औद्योगिक तथा व्यापारिक केन्द्रमा सशस्त्र प्रहरी बलद्वारा विशेष सुरक्षा निगरानी राखिने, आतसबाजी लगायतका अवैध विस्फोटक पदार्थको ओसारपसार तथा कारोबार नियन्त्रणका लागि सशस्त्र प्रहरीका ११ टोली परिचालित गरिने जनाइएको छ ।
सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै जिल्लामा नागरिकहरूलाई सुरक्षा प्रदान गर्नका लागि नेपाल प्रहरीका १ हजार १३ जना र सशस्त्र प्रहरीका ४ सय ९५ जना गरी कुल १ हजार ५ सय ८ सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्