फेवातालमा डुङ्गा चालकहरूको मा.प.से.परीक्षण
पोखरा । पोखराको फेवातालका डुङ्गा चालकहरूले अनिवार्य गरिएको लाईफ ज्याकेट नै नलगाई डुङ्गा चलाउने गरेको भेटिएको छ । बुधबार फेवातालमा गरिएको मादक पदार्थ सेवन (मा.प.से.) को परीक्षणको क्रममा केही डुङ्गा चालकहरूले लाइफ ज्याकेट नै नलगाई डुङ्गा चलाउने गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. श्रवणकुमार बि.क.ले बताउनुभयो ।
पोखरा महानगरपालिका वडा नं.६ लेकसाईड स्थित फेवातालमा समय–समयमा डुङ्गा दुर्घटना हुने घटनालाई मध्यनजर गर्दै उक्त घटनाको न्यूनीकरणको लागि डुङ्गा चालकहरूको मा.प.से. परिक्षण गरिएको उहाँले उल्लेख गर्नु भयो । उक्त अवसरमा ५० जनामा गरिएको मापसे परिक्षणमा शतप्रतिशत मापसे नगरेको भेटिएको भए पनि ३ जनाले भने लाईफ ज्याकेट नलगाएको भेटिएकोले पहिलो चरणमा उहाँहरूलाई सम्झाई बुझाई छाडिएको डिएसपी बि.क.ले बताउनुभयो ।

वडा प्रहरी कार्यालय बैदामको आयोजना तथा अस्थायी ट्राफिक प्रहरी पोष्ट बैदामको सहकार्यमा फेवातालमा डुङ्गा चालकहरूले मादक पदार्थ सेवन गरे÷नगरेको सम्बन्धमा चेकजाँच तथा डुङ्गामा सवार सर्वसाधारणहरूले लाईफ ज्याकेटको प्रयोग गरे÷नगरेको सम्बन्धमा अनुगमन गरी सचेतना मूलक कार्यक्रम गरिएको उहाँले रेडियो नेपालका संवाददातालार्ई बताउनु भयो ।
हरेक बर्ष जसो पोखराको मुख्य पर्यटकीय स्थल फेवातालमा अनिवार्य गरिएको लाईफ ज्याकेट विना डुङ्गा सयर गर्नु, मापसे गरेर डुङ्गा सयर तथा डुङ्गा चलाउने गर्नु लगायतका कारणले गर्दा पर्यटकहरूले ज्यान गुमाउनु परेको छ ।







प्रतिक्रिया राख्नुहोस्