तपाईँ सुन्दै हुनुहुन्छः

आइतबारदेखि पोखरामा पुनः तोरीपानीबाट प्याराग्लाइडिङको उडान हुने

पोखरा । पोखरामा विगत साँढे ९ महिना देखि स्थान्तरण भएको साहसिक खेल प्याराग्लाइडिङ अन्ततः पहिलाको स्थान तोरीपानी बाहकोटबाट उडान हुने भएको छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण देखाउँदै पोखरा १८ को तोरीपानीबाट पोखरा २४ को मान्द्रेढुंगाबाट स्थान्तरण भई सञ्चालन गरिएको प्याराग्लाइडिङ पुनः पहिलाकै स्थान तोरीपानीबाट आउँदो आइतबार देखि सुरु हुने भएको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिलबहादुर भट्टराईले बताउनु भयो । 

संघ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयपछि तोरीपानीबाट उडाउन सहमति पाएको तर हाल केही प्राविधिक कुराले गर्दा सञ्चालन गर्न नसकेको अवस्थामा अबको आइतबार घटस्थापनाको दीन देखि पुरानै स्थान तोरीपानीबाट प्याराग्लाइडिङको उडान भर्ने (टेकअफ गर्ने) गरी हाल उक्त क्षेत्रमा मर्मत संहार एवं सरसफाई गर्न लागिएको अध्यक्ष भट्टराईले जनाउनु भयो । एरोनोटिकल इन्फरमेसन पब्लिकेसन (ए.आई.पि.) मा तोरीपानीबाट पोखराको प्याराग्लाइडिङ गर्न उपयुक्त छ भनी अनुमति सहितको सूचना प्रकाशन भएसँगै अब आफूहरू आफ्नो आन्तरिक तयारी गरी पहिलाकै स्थानबाट प्याराग्लाइडिङ गर्ने भएको अध्यक्ष भट्टराईले बताउनु भयो । 

अब आफूहरूलाई पोखराको आकाशमा पहिलाको तुलनामा केही बढी क्षेत्र प्राप्त गरेसँगै अब ल्याडिङको विषयमा पनि पहिलाकै स्थान पखौदीमा ल्याडिङ(अवतरण) को लागि माग गरिएको उहाँले बताउनु भयो । आफूहरूले हाल अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङको उडान भर्ने स्थल(टेकअफ) बनाउने गरी कार्पेट समेत विच्छाउने गरी काम गरेको अध्यक्ष भट्टराईले उल्लेख गर्नु भयो । करिब ८ लाखको लागतमा उक्त मर्मत तथा संहार एवं सरसफाई गरिने भएको नाले जनाएको छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण हाल पोखरामा बिहान ११ः०० बजे देखि दिउँसो ३ः०० बजेसम्मको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अनुमति दिएको छ । आफूहरूले क्यान सहित पर्यटन विभाग तथा मन्त्रालयहरूमा पोखराबाट सोलो प्याराग्लाइडिङ गर्ने समेत अनुमति माग गरेको अध्यक्ष भट्टराईले जनाउनु भयो । 

पोखरामा फष्टाउदै आएको साहसिक खेल प्याराग्लाइडिङ स्थान्तरण भएसँगै हिजोआज करिब ५ गुणाले खस्केको व्यवसायीहरू बताउनु हुन्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनु पूर्व पोखराबाट दैनिक जसो ५ सय आन्तरिक तथा बाह्य पर्यटकहरूले प्याराग्लाइडिङ गर्दै आए पनि हाल स्थान्तरण भएसँगै हिजोआज भने पहिलाको तुलनामा ५ गुणाले ह्वात्तै घटेर १ सय जनाको हाराहारीमा पुगेको निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले बताउनु भयो । 

पोखरा ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले प्याराग्लाइडिङ उडान गर्दा हाल १२ हजार रूपैया लिनुले यसको क्रेज घट्दो रूपमा रहेको दाबी गर्नु भएको छ । नाका महासचिव खेमराज आचार्यले हाल पोखरा क्षेत्रमा ६२ वटा प्याराग्लाइडिङ कम्पनी रहेको उल्लेख गर्दै १० जना महिला सहित ३ सय ९९ जना प्याराग्लाइडिङ पाइलटहरू रहेको बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button