रिगलविरुद्धको मुद्दा प्रधानन्यायाधीशसहितको पूर्ण इजलासबाट सुनुवाई हुने

काठमाडौँ । सर्वस्वसहित जन्मकैद भुक्तान नगरी आममाफी पाएका रिगल ढकालविरुद्धको मुद्दामा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा सुनुवाई हुने भएको छ ।
सर्वोच्च अदालतले रिगल विरुद्धको मुद्दामा सुनुवाई गर्न प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलास पेशी तोकेको हो ।
सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्तिलाई बाँकी कैद कट्टा गर्न वा सजायमा छुट दिन नमिल्ने भन्दै मृतक चेतन मानन्धरी पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो ।
संविधान दिवसको दिन राष्ट्रपति रामचन्द्र पौडेलले हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका रिगल ढकाललाई बाँकी कैद कट्टा गरी जेलमुक्त गर्नुभएको थियो ।
कारागार कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालय दाङ, कारागार व्यवस्थापन विभाग, गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकबाट रिगलको बाँकी कैद कट्टा गर्ने निर्णय भएको थियो । मन्त्रिपरिषद्को सो निर्णय राष्ट्रपति रामचन्द्र पौडेलले सदर गर्नुभएको थियो ।
बाँके जिल्ला अदालतको फैसला अनुसार रिगलले २०९२ भदौ ७ गतेसम्म जेलमा बस्नुपर्ने थियो ।








प्रतिक्रिया राख्नुहोस्