तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा तोडफोड र ढुंगामुढाबाट भएको क्षतिको विवरण सङ्कलन गर्न सुरु

नेपालगञ्ज । नेपालगञ्जमा तोडफोड र ढुंगामुढाबाट भएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ । असोज १६ गते दुई समूहबीच झडप हुँदा नेपालगञ्जमा तोडफोड र ढुङ्गामुढा भएको थियो । दुई धार्मिक साम्प्रदायबीच झडप हुँदा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ इदगाहरोडमा सबैभन्दा बढी  क्षति  भएकाले ११ नम्बर वडा कार्यालयले क्षतिको विवरण सङ्कलन सुरु गरेको हो ।

वडा नम्बर ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यप नेतृत्वको टोलीले इदगाह रोडका पसल र घरको अवलोकन गरेर क्षतिको विवरण सङ्कलन गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको सर्वपक्षीय बैठकमा गरिएको सहमति अनुसार  क्षतिको विवरण सङ्कलन गरेर लुम्बिनी प्रदेश गृह मन्त्रालयमा पठाउने र प्रदेश सरकारले क्षतिपूर्ति उपलब्ध गराउनेछ । वडा अध्यक्ष कश्यपले  क्षति  भएका घर, पसल र घुम्तीमा पुगेर अवस्था हेरेर  क्षति को विवरण सङ्कलन गर्ने कार्य भइरहेको बताउनुभयो ।

दुई समुदायबीच बढेको तनावले उग्ररुप लिने अवस्था देखिएपछि त्यसै दिन दिउँसोदेखि नेपालगञ्जमा कर्फ्यु आदेश जारी गरिएको थियो । सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले असोज १४ गते गरेको विरोध प्रदर्शनका कारण उत्पन्न परिस्थिति एवम् १६ गते ओमकार परिवार हिन्दु समाजले निकालेको र्‍यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भङ्ग हुने स्थिति देखिएको भन्दै कर्फ्यु आदेश जारी गरिएको थियो ।

नेपालगञ्जको अवस्था सामान्य बन्दै गएपछि कर्फ्यु र निषेधाज्ञा क्रमशः घटाउँदै लगिएकोमा मङ्गलवारबाट पूर्णरूपमा कर्फ्यु र निषेधाज्ञा हटाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button