एउटै गाउँबाट झन्डै पाँच करोडको बीउ, तरकारी र दूध निर्यात

वालिङ (स्याङ्जा) I स्याङ्जाको एउटै गाउँमा बीउ, तरकारी तथा दूध बिक्रीबाट वार्षिक झन्डै रु. पाँच करोड भित्रिने गरेको छ ।
गल्याङ नगरपालिका–११ जिमुहामा प्रमाणित तथा उन्नत किसिमका धान, मकै, गहुँ तथा आलुको बीउ, मौसमी तथा बेमौसमी तरकारी र दूध बिक्रीबाट वार्षिक अनुमानित चार करोड ६९ लाख ५० हजार भित्रिने गरेको आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था (आक्वा) का अध्यक्ष रुमलाल कँडेलले बताउनुभयो ।
कालीगण्डकी नदीको किनारमा फैलिएको समथर र रातो माटो रहेको जिमुहा क्षेत्र आलु, धान, गहुँ तथा तरकारी बालीका लागि उर्वर भूमि पनि हो । आँधीखोला जलविद्युत आयोजनाअन्तर्गत यहाँ सिँचाइको व्यवस्था भएसँगै यो क्षेत्रले कृषिमा फड्को मारेको हो ।
आक्वामा हाल ५५८ किसान आबद्ध छन् । उनीहरू व्यावसायिक वा घरायसी प्रयोजनका लागि भएपनि खेती किसानी गर्दै आएका छन् ।
जिमुहामा बीउ आलु तथा खानका लागि प्रयोग हुने आलु, मकैको बीउ, धानको बीउ, बोडी, करेला, काँक्रा, लौका, घिरौँला, बन्दा, काउलीलगायत मौसमी तथा बेमौसमी तरकारी र दूधको व्यावसायिक उत्पादन हुने गरेको अध्यक्ष कँडेलले बताउनुभयो ।
यहाँ करिब दुई सय हेक्टर जमिनमा जनकदेव, एमएस ४२, खुमल रातो, खुमल उज्जल जातका बीउ आलु उत्पादन हुने गरेको छ । यहाँ खानका लागि प्रयोग गरिने आलु मात्रै करिब तीन सय मेट्रिक टन उत्पादन हुने अध्यक्ष कडेलले बताउनुभयो ।
त्यस्तै बीउका लागि प्रयोग गरिने आलु खेतीबाट करिब चार सय मेट्रिक टन, अरुण–दुई जातको मकैको बीउ करिब एकसय मेट्रिक टन, साबित्री, रामधान करिब एकसय ५० मेट्रिक टन, गौतम, स्वर्गद्वारी, एनएल ९७१ जातको प्रमाणित गहुँको बीउ दुई मेट्रिक टन, दूध दैनिक चार सय लिटर, बोडीलगायत मौसमी तथा बेमौसमी तरकारी बाली यहाँबाट अन्यत्र निकासी हुने गरेको उहाँको भनाइ थियो ।
बर्सेनि अनुमानित बीउ आलु बिक्रीबाट रु २१ लाख, खाने आलु बिक्रीबाट रु १२ लाख, मकैको बीउ बिक्रीबाट रु एक करोड २० लाख, धानको बीउ बिक्रीबाट रु एक करोड १२ लाख ५० हजार, दूध बिक्रीबाट वार्षिक रु एक करोड ४४ लाख र बोडी, काउली, काँक्रालगायत मौसमी तथा बेमौसमी तरकारी बिक्रीबाट रु ६० लाख गरी वार्षिकरुपमा अनुमानित चार करोड ६९ लाख ५० हजार गाउँमा भित्रिने गरेको अध्यक्ष कँडेलको जिकिर थियो ।
“आक्वा तथा जिमुहा शीत भण्डार सहकारी संस्थामा आबद्ध भएर यहाँका कृषकहरू ब्यावसायिकरुपमा अगाडि बढेका छन्” उहाँले भन्नुभयो, “व्यक्तिगत तथा सामूहिकरुपमा पनि यहाँ खेती गर्ने गरिएको छ ।”
उत्पादित बीउ तथा दूधको बजारीकरणका लागि समस्या नभए पनि कहिलेकाहीँ तरकारी बिक्रीका लागि भने समस्या हुने गरेको छ ।
कृषि कर्मलाई नै मुख्य आम्दानीको स्रोत देखेर काम गर्ने कृषकहरू धेरै भएको र घरायसी प्रयोजनकालागि मात्रै कृषि गर्नेहरू पनि यहाँ छन् ।
“ठुलो जमिनमा व्यावसायिक उत्पादन गर्नेहरू अहिले सन्तुष्ट छन्, निरन्तर यही पेसामा रमाएका पनि छन्” अध्यक्ष कँडेलले भन्नुभयो, “सामान्य तरिकाले थोरै जमिनमा खेती गर्दा पनि यहाँ जीविकोपार्जनका लागि कुनै समस्या छैन, सहज छ ।”
गत वर्षदेखि गहुँको बीउ उत्पादन थोरै परिमाणमा थालिएकाले यस वर्षदेखि ठुलो परिमाणमा उत्पादन थाल्ने तयारी गरिएको छ । यहाँबाट उन्नत जातका गाईका बाच्छी उत्पादन गर्ने उद्देश्यसहित प्रजनन केन्द्रको रूपमा गतिविधिहरू अगाडि बढाउने काम पनि सुरु भएको उहाँले बताउनुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्