कर्णालीका नौ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन
सुर्खेत । कर्णालीका नौ जिल्लामा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ ।

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रादेशिक कार्यालयले आज एक औपचारिक कार्यक्रम आयोजना गरी सुर्खेतसहित प्रदेशका नौ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

सुपथ मूल्य पसलको आज सुर्खेतको वीरेन्द्रनगरमा उद्घाटन गर्दै जिल्ला समन्वय प्रमुख गङ्गाराम विकले शहरमा मात्र केन्द्रित नगरी घुम्ती पसल मार्फत सबै पालिका केन्द्रसम्म सुपथ मूल्य पसल सञ्चालन गरेर आम उपभोक्तालाई राज्यको उपस्थिति भएको महसुस गराउन सुझाव दिनुभयो ।

कार्यक्रममा सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर थापाले चाडपर्वमा अत्यावश्यक खाद्य वस्तुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सहज तथा सर्वसुलभ रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सम्बन्धित पक्षलाई निर्देशन दिनुभयो ।

त्यस्तै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले कर्णालीमा सुपथ मूल्य पसल चाडपर्वमा मात्र होइन, वर्षभरि नै सञ्चालन गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेशले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई चामल र नुन मात्र वितरण गरेर सुपथ मूल्य पसललाई औपचारिकतामा मात्र सीमित नराख्न आग्रह गरेको छ ।
सहुलियत पसल आगामी मङ्सिर ३ गतेसम्म सञ्चालन हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्