मधेश प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री यादव माथि भ्रष्टाचार मुद्दा

जनकपुरधाम । मधेश प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादव सहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
मधेश प्रदेशका आर्थिक मामिलामन्त्री यादवमाथि झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।
तत्कालीन आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले आफूलाई नभएको अधिकार प्रयोग गरी कानुन विपरीत झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेको र बदनीयतपूर्वक १७ करोड ९८ लाख ३३ हजार निकासा गरेको अख्तियारले विशेषमा दायर गरेको भ्रष्टाचार सम्बन्धि आरोप पत्रमा उल्लेख रहेको छ ।
सर्लाहीको लालबन्दी रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष सङ्कलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमा संघीय सरकारबाट समपूरक अनुदानका रुपमा प्राप्त रकमसहित बजेट विनियोजन गरिएको थियो ।
विशेष अदालतमा दायर मुद्दामा उनीहरूबाट १७ करोड ९८ लाख ३३ हजार असुल उपर गर्न र भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवाना सहितको माग समेत अख्तियारले गरेको छ ।
यसै गरि अख्तियारले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल हाल राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्को नाममा रहेको सर्लाही जिल्लाको लालबन्दी नगरपालिकामा रहेको ८ बिघा ९ कट्टा ६.३३ धुर जग्गा र सोही संस्थाको नाममा रहेको सवारी जफत गर्ने अख्तियारका प्रवक्ता भोला दहालले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख रहेको छ ।
मधेश प्रदेशका पूर्वमन्त्रीका विरुद्धमा पहिलो पटक अख्तियारले मुद्दा दायर गरेको छ । जनता समाजवादी पार्टी नेपालका नेता समेत रहनु भएका यादव संघीय सरकारमा पनि मन्त्री भइसकेका छन् ।







प्रतिक्रिया राख्नुहोस्