तपाईँ सुन्दै हुनुहुन्छः

मुख्य प्रशासकीय अधिकृत भट्टराई सेवा निवृत्त

काठमाडौँ । रेडियो प्रसार सेवा विकास समिति, रेडियो नेपालमा विगत २४ वर्षदेखि सेवारत मुख्य प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराई सेवा निवृत्त हुनुभएको छ ।

उहाँ, २०५६ असोज १८ देखि रेडियो नेपालको प्रशासन महाशाखा अन्तर्गत कार्यरत रहँदै आउनुभएको थियो । रेडियो नेपालमा सेवा प्रवेश गर्नुअघि भट्टराई २०४० साउनदेखि २०४४ साल जेठसम्म सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्मा कार्यरत हुनुहुन्थ्यो । त्यसपछि उहाँले २०४४ सालदेखि केन्द्रिय सेवा विभागमा कार्य गर्नुभएको थियो ।

भोलि असोज २२ गतेदेखि रेडियो नेपालबाट अनिवार्य अवकाश हुनुहुने भट्टराईको आज रेडियो नेपालमा विदाइ कार्यक्रमको आयोजना गरियो ।

विदाइ कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, रेडियो नेपाल सञ्चालक समितिका सदस्य तिलकजंग बुढाथोकी, रेडियो नेपालका नायब कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेल र प्रशासन महाशाखाका निमित्त प्रमुख बद्रीबिशाल तण्डुकारले मुख्य प्रशासकीय अधिकृत भट्टराईको अवकाशपछिको जीवन सफल, थप सक्रियतापूर्ण होस् भनी कामना गनुभयो ।

कार्यकारी निर्देशक केसीले प्रशासनको क्षेत्रमा भट्टराईले प्राप्त गर्नुभएको ज्ञान र सीप रेडियो नेपालका लागि उपयोगी हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

अवकाशप्राप्त मुख्य प्रशासकीय अधिकृत भट्टराईले आफूले रेडियो नेपालमा प्राप्त गरेका सीपमार्फत भावी दिनमा रेडियो नेपालको प्रगतिका लागि सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button