जनकपुरधाममा असोज २८ गतेबाट दशैं बजार लाग्ने
जनकपुरधाम । दशैं, दीपावली तथा छठ पर्वमा उपभोक्तालाई सुपथ मूल्यमा सामान उपलब्ध गराउने उद्देश्यसहित लाग्दै आएको दशैं बजार २०८० यस पटक पनि लाग्ने भएको छ । जनकपुरधामको गोपाल धर्मशालामा लाग्दै आएको बजार यस वर्ष पनि सोही ठाउँमा लाग्ने छ ।

विगतमा धनुषाका प्रमुख जिल्ला अधिकारीको अगुवाइ तथा अध्यक्षतामा लाग्ने गरेको दशैं बजार यस पटक जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्षको अध्यक्षता र संयोजनमा लाग्ने छ । दशैं बजार सम्बन्धमा आज जनकपुरधाम उद्योग वाणिज्य सङ्घको सभाकक्षमा भएको बैठकबाट उक्त निर्णय भएको हो ।
बजार अगामी असोज २८ गते (घटस्थापना) देखि कार्तिक ५ गते (महाअष्टमी) सम्म लाग्ने छ ।

बैठकबाट सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजार अनुगमनका साथै कानूनी प्रावधान अनुसार दशैं बजारको पनि अनुगमन गर्ने निर्णय भएको छ ।
जनकपुरधाममा लाग्ने दशैं बजारमा नेपालमा उत्पादित सामाग्रीको अत्यधिक विक्री हुने गरेको छ । थोक मूल्यमा खुद्रा सामान पाइने भएकाले उपभोक्ताहरूले वर्ष भरिका लागि साबुन, चियापत्ती, अगरबत्ती, तेल, चाउचाउ सहितका खाद्यान्नका साथै प्लास्टिकका भाडा वर्तन, कपडा सहितका सामान खरिद गर्ने गर्दछन् ।
उक्त बजारबाट धनुषा, महोत्तरी, सर्लाही, सिरहा तथा सीमावर्ती भारतीय क्षेत्रका जनताहरूले लाभ पाउने गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्