आर्थिक विकासका लागि विद्युत् उत्पादन र व्यवस्थापन गर्नु महत्वपूर्ण : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको आर्थिक विकासका लागि विद्युत् उत्पादन, उपभोग र यसको व्यापार व्यवस्थापन गर्नु महत्वपूर्ण रहेको बताउनुभयो ।
प्रतिनिधि सभाको आजको बैठकमा विद्युत् विधेयक, २०८० माथि प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि प्राप्त विरोधको सूचनालाई जवाफ दिनुहुँदै मन्त्री बस्नेतले आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण बन्दै गएको विद्युत् उत्पादन, उपभोग र व्यापार व्यवस्थापनमा लागेको बताउनुभयो ।
मन्त्री बस्नेतले विद्युत् क्षेत्रको विस्तार, व्यापार र व्यवस्थापन गर्नु आजको आवश्यकता रहेको बताउनुहुँदै यस कार्यमा कुनै पनि बाहानामा अनुचित लेनदेन स्वीकार नहुने बताउनुभयो ।
मन्त्री बस्नेतले सन्तुलित विद्युत् उत्पादनका लागि जलाशययुक्त आयोजनाहरूलाई आवश्यकता र प्राथमिकता दिँदै आर्थिक वृद्धिको क्षेत्र बनाउन कानुनी सहजताका लागि समेत विद्युत् विधेयक आवश्यक रहेको बताउनुभयो ।
यसअघि बैठकको विशेष समयमा बोल्दै सांसदहरुले चाडपर्व नजिकिएसँगै बढेको महँगी, अवरुद्ध सडकखण्ड र मुलुकको अर्थ व्यवस्थाको सुधार गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले चाडपर्व मनाउन घर फर्कनेहरूका लागि सहज यात्राको व्यवस्थापन गर्नुपर्ने, विगत केही दिन देखी तराईमधेश क्षेत्रमा साम्प्रदायिक हिंसा हुनु र चारी, लुटपाट बढेको भन्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै सिँचाई नपुगेका स्थानहरूको अनुगमन गरी उचित राहत दिन, भइरहेको प्रति गैरआवसीय नेपाली र भुटानी शरणार्थीहरूका समस्या समाधान गर्नुपर्नेमा सांसदहरुले जोड दिनुभयो ।
आजको बैठकमा गणपुरक सङ्ख्या नपुग्दा विद्युत् विधेयक २०८० पेश नभई कार्यसूचीबाट हटाइएको छ ।
प्रतिनिधि सभाको अर्को बैठक असोज १८ गते बिहीबार दिनको १ बजे बस्नेछ ।







प्रतिक्रिया राख्नुहोस्