जनकपुरधामको ट्राफिक व्यवस्थापनमा चुनौती बन्दै ई–रिक्सा

जनकपुरधाम । जनकपुरधामको ट्राफिक व्यवस्थापनमा ई–रिक्सा कारणले निक्कै चुनौतीपूर्ण बनेको छ । ई–रिक्सा यातायात कार्यालयमा दर्ता रहने गरेको भएपनि कुन ठाउँमा कति सञ्चालन गर्न मिल्ने विषयमा अध्ययन नभएका कारणले जनकपुरधाममा ट्राफिक जाम हुने गरेको छ ।
ई–रिक्साको सङ्ख्या जनकपुरधाममा अत्यधिक भएका कारणले जनकपुरधामको अस्पताल रोड, जानकी मन्दिर, रामानन्द चौक, शिव चौक, भानुचौकमा अन्य विभिन्न सवारी साधनको अधिक चाप रहने गरेका कारणले सडक जाम हुने गरेको छ ।
सडक व्यवस्थापन तथा ई–रिक्साको व्यवस्थापनमा खटिने ट्राफिक प्रहरीलाई निक्कै समस्या हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक शेखर साहले जानकारी दिनु भएको छ ।
ई–रिक्साका चालकले गल्ती गरेको खण्डमा सम्झाई बुझाई गरि छाड्ने गरेका भएपनि यसको स्थायी व्यवस्थापन आवश्यक रहेको प्रहरी निरीक्षक साहले जानकारी दिनु भयो । ई–रिक्साको साइज ठूलो हुने भएकाले अधिक सङ्ख्यामा सडकमा गुड्न थालेपछि सडक जामको बढी समस्या हुने गरेको स्थानीयवासीले जानकारी दिएको छ ।
मधेश प्रदेशको राजधानी पनि रहेकाले शहरको जनसङ्ख्या तथा सवारी साधनको सङ्ख्या बढिरहेका कारणले ट्राफिक व्यवस्थापनमा ठूलो समस्या हुने गरेको फिल्डमा खटिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
यसै बीच ई–रिक्साको सञ्चालन तथा व्यवस्थापनका लागि जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रमा सञ्चालन गर्नका लागि अनुमति दिन लागेको छ । अनुमति पत्र लिएकाहरूलाई मात्र नगर क्षेत्रमा सञ्चालन गर्न दिने उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले यसका लागि राजपत्रमा नै सूचना प्रकाशित गरेको कारणले नगर क्षेत्रको आवश्यकताको आधारमा मात्र ई–रिक्सा सञ्चालनका लागि अनुमति दिने भएकाले ई–रिक्साको सही व्यवस्थापन हुने विश्वास जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको रहेको छ । रुट निर्धारण सहितको काम त्यसपछि नै हुने प्रहरी निरीक्षक साहले जानकारी दिनु भयो ।
अहिले यातायात व्यवस्था कार्यालयमा दैनिक रुपमा ई–रिक्सा थपिने क्रम जारी नै रहेको छ । वातावरणका दृष्टिकोणले ठिक भएपनि थोरै मान्छे अटाउने तथा ठूलो आकार भएका कारणले सडक जाम गरेर ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
यातायात व्यवस्था कार्यालय जनकपुरधाममा चालु आर्थिक वर्ष शुरु भएको साउन र भदौमा मात्र ५४ वटा नयाँ ई–रिक्सा दर्ता भएको कार्यालयका प्रमुख विरेन्द्र साहले जानकारी दिनु भएको छ । यस अघि ठुलो सङ्ख्यामा दर्ता रहेको छ भने अहिले पनि दर्ता हुने क्रम जारी रहेकाले अगामी दिनमा ट्राफिक जामको समस्या जारी नै रहनेछ ।







प्रतिक्रिया राख्नुहोस्