बाँकेका चिकित्सक सडकमा, आकस्मिक बाहेक सबै सेवा बन्द

नेपालगन्ज। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि श्रृंखलाबद्धरुपमा आक्रमण हुन थालेको भन्दै बाँकेका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् ।
नेपाल चिकित्सक सङ्घ भेरीको नेतृत्वमा बाँकेका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकहरू आजदेखि आकस्मिक सेवा बाहेक अन्य सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकहरूले आजदेखि निजी क्लिनिकमा समेत नबस्ने बताएका छन् ।

चिकित्सकमाथि सुनियोजितरुपमा गरिएका साङ्घातिक आक्रमणले ढुक्क भएर बिरामीको सेवा गर्ने अवस्था नरहेपछि आन्दोलनमा उत्रनु परेको सङ्घका अध्यक्ष डा.विनोद कुमार थापाले बताउनुभयो । सरकारले दोषीमाथि कारबाही गर्नुपर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहने पनि उहाँको भनाई छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि श्रृंखलाबद्धरुपमा भइरहेको आक्रमणले सेवा दिन नसकिने अवस्था सिर्जना भएको निष्कर्ष निकालेर आन्दोलनमा उत्रेको सङ्घका पूर्व अध्यक्ष डा.विनोद कर्णले बताउनुभयो ।

‘हाम्रो आन्दोलनका कारण कुनै पनि बिरामीहरू उपचार सेवाबाट वञ्चित हुन नपरोस् भन्ने नै थियो,’ भेरी अस्पतालका कन्सल्टेन्ट न्युरो सर्जन डा. अञ्जन कार्कीले भन्नुभयो–‘तर उपचार गर्दागर्दै पनि जसरी हामीमाथि निरन्तर आक्रमण हुन थाल्यो, यसले गम्भीर परिस्थिति सिर्जना गरेको छ । यो हाम्रो रहर नभएर बाध्यता हो ।’
पोखरा, हेटौँडा, गुल्मी, मोरङ लगायतका जिल्लामा श्रृंखलाबद्धरुपमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको चिकित्सकहरूको भनाई छ । पछिल्लो पटक मणिपाल अस्पताल पोखरामा सहकर्मी कुटिएपछि चिकित्सकहरू सुरक्षाको माग गर्दै आन्दोलनमा छन् ।








प्रतिक्रिया राख्नुहोस्