नेपालगञ्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा ६० हजारलाई तालिम

नेपालगञ्ज । नेपालगञ्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र स्थापना भएको ५७ वर्षको अवधिमा ६० हजार प्रहरी कर्मचारीले विभिन्न प्रकारका तालिम प्राप्त गरेका छन् ।
तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक सुशिलसिंह राठौरले स्थापना यता हालसम्म ६० हजार ४५३ जनालाई आधारभूत, उन्नत तथा अनुशिक्षण तालिम प्रदान गरिएको जानकारी दिनुभयो । ती मध्ये २३ हजार ६३७ जना प्रहरी जवानलाई आधारभूत प्रहरी तालिम दिई कार्य क्षेत्रमा पठाइएको छ ।
५७ वर्ष अघि प्रहरी सङ्गठनको आवश्यकता अनुसार नवनियुक्त भई आउने तथा सङ्गठनमा सेवारत सदस्यहरूलाई व्यावसायिक ज्ञान, सिप र कौशल प्रदान गरी एक सक्षम र दक्ष प्रहरी तयार गर्न विभिन्न आधारभूत तथा उन्नत तालिमहरू सञ्चालन गर्न तालिम केन्द्रको स्थापना गरिएको हो । २०२३ सालमा सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रको रूपमा स्थापित यो तालिम केन्द्र २०३८ सालमा प्रशासनिक क्षेत्रीय पुनः संरचनापछि मध्यपश्चिम प्रहरी तालिम केन्द्र र २०७५ चैत १५ देखि कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रको रूपमा रहेको छ ।
तालिम केन्द्रका तालिम संयोजक प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले आधारभूत तालिमका प्रहरी जवानलाई चार चरणमा तालिम दिँदै आएको बताउनुभयो । बस्नेतले नेपाल र नेपाल प्रहरी सङ्गठन परिचय, सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र ऐन कानुन र प्रहरी नियुक्ति र कारबाही गरी पाँच विषयमा सैद्धान्तिक एवम् पेशागत कौशलता सम्बन्धि प्रशिक्षण दिँदै आएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्