तपाईँ सुन्दै हुनुहुन्छः

‘सम्भावना भएअनुसार आयुर्वेद पद्धतिको विकास हुन सकेन’

काठमाडौँ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले प्रकृतिले प्रचुर सम्भावना दिए पनि देशमा त्यसअनुरूपको आयुर्वेदिक चिकित्सा पद्धति विकास हुन नसकेको बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय परिसरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आयोजनामा आजदेखि सुरु भएको पञ्चकर्म चिकित्सासम्बन्धी आधारभूत तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आयुर्वेदको विकास गर्नका लागि ठोस कार्ययोजना ल्याउनुपर्ने बताउनुभयो ।

जति आयुर्वेदको विकास भयो त्यति नै नेपाली जनताका लागि राम्रो हुने समेत बताउँदै मन्त्री बस्नेतले ‘साइड इफेक्ट’ नहुने आयुर्वेदिक औषधिको पहुँच बढाउनुपर्नेमा जोड दिनुभयो । आयुर्वेदिक महत्त्व भएका जडीबुटीलाई खोस्टोको भाउमा विदेशीलाई बेच्ने तर पछि त्यही जडीबुटी औषधि बनेपछि अमृतको भाउमा किन्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि पनि कार्ययोजना बनाएर अगाडि बढ्नुको विकल्प नभएको उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा व्याप्त बेथितिको अन्त्य गर्न आफू लागिपरेको बताउँदै पहुँचको भरमा दशकौँदेखि राजधानी बाहिर जान नचाहेका चिकित्सक र स्वास्थ्यकर्मीलाई आफूले काज फिर्ता गरेर दरबन्दी भएकै ठाउँमा पठाएको समेत बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा रामआधार यादवले औषधिविहीन थेरापीको रुपमा पञ्चकर्म चिकित्सालाई लिइने गरेको बताउँदै पञ्चकर्मले दुखाइसम्बन्धी धेरैजसो रोगको उपचार गर्न सकिने दाबी गर्नुभयो ।

शरीरको आवधिक शोधन रोग निवारणका लागिसमेत आवश्यक मानिने पञ्चकर्म चिकित्सामा बमन (बान्ता), विरेचन (मल उत्सर्जन), बस्ती (मलद्वारबाट औषधि प्रक्षेपण) नस्य (नाकबाट औषधि प्रक्षेपण) र रक्त मोक्षण (शुद्धीकरण) गरी पाँच वटा विधि प्रयोग गरिन्छ । यसबाट शरीरमा विकारयुक्त तत्त्व बाहिर पठाएर उपचार गर्ने विधिलाई आयुर्वेदमा पञ्च चिकित्सा भनिएको हो । तालिममा देशका विभिन्न प्रदेशका आयुर्वेद क्षेत्रमा कार्यरत २० जना सातौँ तहका स्वास्थ्यकर्मीको सहभागिता छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button