गैँडा शिकार गर्ने तीन अभियुक्त २५ वर्षपछि पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको शिकार गरी खाग तस्कर गर्ने तीनजना अभियुक्त २५ वर्षपछि पक्राउ परेका छन् । विष्णु कार्की, काले बानिया भनिने गोगन बहादुर बानियाँ क्षेत्री र यम बहादुर बानियाँलाई पक्राउ गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ खटिएको टोलीले उनीहरू लुकीछिपी बसेको अवस्थामा असोज ७ गते मकवानपुरबाट पक्राउ गरेको हो ।
२०५५ साल निकुञ्जको अमृतपोष्टबाट करिब डेढ किलोमिटर पूर्व पन्ना खोला नजिक खाल्डोमा गैँडा मारेर खाग काटी लगेको अवस्थामा निकुञ्जका गस्ती टोलीले मृत गैँडा भेटाएको थियो । अनुसन्धानबाट सो घटनामा १७ जना प्रतिवादी संलग्नता रहेको खुलेको थियो । ती मध्ये यी तीनजनालाई अदालतले प्रतिव्यक्ति १ लाख जरिवाना र दश बर्ष कैद सजाय सुनाएको थियो । उनीहरू विगत २५ वर्षदेखि लुकीछिपी बस्दै आएको विशेष सूचनाको आधारमा सेनाले उनीहरुलाई खोजतलास गर्ने क्रममा सेनाले पक्राउ गरेको हो ।
यो घटनामा संलग्न प्रतिवादी हरि कार्कीलाई ७ बर्ष कैद र ५० हजार रुपैयाँ सजाय सुनाइएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको सहयोगमा कार्कीलाई पक्राउ गरी असोज ६ गते भरतपुर कारागार चलान गरिएको निकुञ्जले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्