दक्षिण सुडानमा महत्वपूर्ण स्थानका सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई
काठमाडौँ । दक्षिण सुडानमा शान्ति स्थापनामा खटिएको नेपाली सेनाले त्यहाँका महत्वपूर्ण स्थान र क्षेत्रमा शान्ति सुरक्षाको जिम्मेवारी पाउने गरेको छ ।

अफ्रिका महादेशकै ठुलो राष्ट्र सुडानमा लामो समयसम्म पटक पटक गरी चलेको गृहयुद्धको परिणाम स्वरूप सन् २०११ मा दक्षिण सुडान सबैभन्दा कान्छो राष्ट्रको रुपमा स्थापना भएको हो ।
छुट्टै राष्ट्रको रुपामा स्थापित भए पनि दक्षिण सुडानमा सन २०११ पछि जातीय र साम्प्रदायिक हिंसा तथा गाई चोरीको विषयमा भिडन्त हुने गरेको छ ।

दक्षिण सुडानमा तैनाथ नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको म्यान्डेटमा रहेर काम गर्दै आएको छ । त्यहाँ नेपाली सेनालाई प्राप्त क्षेत्रमा काजुकेजी, मोरब्बो, एइ र लाइनिया रहेका छन् । नेपाली सेनाले आफूलाई प्राप्त स्थानहरूमा लामो तथा छोटो दुरीका गस्ती लगायतका कार्य गर्दै आएको छ । गतिशील हवाई गस्ती समेत गर्दै आएको नेपाली सेनाले गत वर्षको डिसेम्बरमा इन्डक्सन तालिम गर्दागर्दै सेक्टर इस्टको जोङ्लिमा समस्या भएपछि Reinforcement को रुपमा सेक्टर इष्टमा परिचालित भई तीन महिनासम्म सफलतापूर्वक अपरेशन सञ्चालन गरेको थियो ।
राष्ट्र सङ्घको स्थापना पछि १९५८ बाट नै नेपाली सेनाका अब्जर्रबरहरु शान्ति सेनामा खटिएको र पछि सेनाको विभिन्न गणहरू विश्वका विभिन्न द्वन्द्व ग्रस्त मुलुकमा खटिँदै आएको र ती स्थानमा खटिने फौजको लगनशीलता, अनुशासन र सैनिक नागरिक सम्बन्ध राम्रो रहेकाले नेपाली सेनाले महत्वपूर्ण स्थान र क्षेत्रको जिम्मेवारी पाउने गरेको दक्षिण सुडानको राजधानी जुवास्थित फोर्स रिजर्भ गण (एफआरबी) का गणपति राजन दाहालले जानकारी दिनुभयो ।

सडक पूर्वाधार राम्रो नहुँदा राजधानी जुवामा रहेको एफआरबी बाट १५० किलोमिटरमा रहेको काजुकेजी पुग्न २ दिन लाग्ने भए पनि वर्षाको समयमा सडक मार्गबाट सम्भव नहुने भएकोले हवाई मार्गबाट जानुपर्ने बाध्यता रहेको छ । दक्षिण सुडानमा विभिन्न मुलुकका सेना तैनाथ भएपनि त्यहाँ भने नेपाली सेना मात्र पुग्ने गरेको छ ।
हिंसाका बढी घटना हुने एइमा रहेका नेपाली फौजलाई एफआरबी जुवामा सार्न खोज्दा समेत त्यहाँका काउन्टी कसिमार, स्थानीय निकाय, अन्य एजेन्सी र सरोकारवालाले नेपाली सेनालाई फिर्ता नगरी निरन्तरता दिन आग्रह गरेको गणपति प्रमुख सेनानी दाहालले बताउनुभयो ।
राष्ट्र सङ्घको आव्हानमा नेपाल सरकारको निर्णय बमोजिम नेपालको प्रतिनिधित्व गरेर शान्ति स्थापनाका लागि मिसनमा सहभागिता जनाउन शुरु गरेदेखि नै मिसनको म्यान्डेटलाई मुख्य मार्ग निर्देश मानेर जिम्मेवारी निर्वाहमा अग्रसरता देखाउँदै आएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
नेपाली सेनाको अनुशासन, जबाफदेहिता, विश्वसनीयता, पेशागत दक्षता र नागरिकसँग घुलमिल हुन सक्ने भएकाले नेपाली सेना राष्ट्र सङ्घको समेत रुचाइमा पर्ने गरेको प्रवक्ता भण्डारीले बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घले फौज खटाउन अनुरोध गर्ने र सबै भन्दा बढी विश्वास गर्ने सदस्य राष्ट्रको रुपमा नेपाल पर्दै आएको छ ।
राष्ट्र संघ शान्ति सेनाको महत्वपूर्ण पाटोको रुपमा रहेको CIMIC Activity लाई नेपाली सेनाले सबै मिसनमा गर्ने गरेको र दक्षिण सुडानमा पनि विभिन्न गतिविधि सञ्चालन गरेको छ । नेपाली सेनाले एइमा महिला सङ्गठनका लागि खेलकुदको सामान, विद्यालयलाई शैक्षिक सामग्री उपलब्ध गराएको र अपाङ्गता भएका व्यक्ति पढ्ने विद्यालयमा र्याम्प निर्माण गरेको छ ।

आन्तरिक रुपमा विस्थापित व्यक्तिहरू बस्ने जुवास्थित ३ ओटा शिविरका ६ सय भन्दा बढी विद्यार्थी अध्ययन गर्ने एक विद्यालयमा कक्षा कोठा निर्माण गरेको र यसले द्वन्द्व ग्रस्त क्षेत्रका बालबालिका एवं अभिभावकमा समेत राम्रो सन्देश जाने गरेकोले नेपाली सेनालाई हेर्ने दृष्टिकोण समेत राम्रो बन्दै गएको गणपति राजन दाहालले बताउनुभयो ।
दक्षिण सुडानको विभिन्न स्थानमा पट्रोलिङ्गको दौरानमा स्थानीय जनता, त्यहाँको सरकारी सेना एसएसपीडिएफ, प्रहरी तथा अन्य सबै समुदायको नेपाल प्रतिको धारणा सकारात्मक रहेको छ ।
अनमिनको म्यान्डेट अनुसार नै काम कारबाहीहरू सञ्चालन गरिरहेको र केही सामाजिक गतिविधिमा सक्रियता देखाएको हुँदा दक्षिण सुडान सरकारको समेत नेपाल प्रतिको धारणा सकारात्मक रहेको र नेपाली सेनाको अनुशासन, जबाफदेहिता, विश्वसनीयता, पेशागत दक्षता र नागरिकसँग घुलमिल हुन सक्ने भएकाले नेपाली सेना राष्ट्रसङ्घको समेत रुचाइमा पर्ने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्