रीतिरिवाज र पहिचान कसैले तोड्न हुँदैन : मन्त्री आचार्य
पोखरा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले रीतिरिवाज र पहिचान कसैले पनि तोड्न नहुने बताउनुभएको छ ।

नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा २५ औँ संस्करणको लामाचौर तीज महोत्सवको शनिबार उद्घाटन गर्दै मन्त्री आचार्यले यस्तो बताउनुभएको हो ।
यस्ता प्रकारका मेला महोत्सवले आर्थिक गतिविधि चलायमान गर्न टेवा मिल्ने उल्लेख गर्दै मन्त्री आचार्यले संविधानले निर्दिष्ट गरेका महिलाको हक अधिकार प्राप्तिमा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपाली चाडपर्व नेपाली मौलिक परम्परामै मनाउनुपर्ने भन्दै उहाँले यसमा देखिने विकृतिप्रति सचेत रहन आग्रह गर्नुभयो ।

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले प्रदेशमा विभिन्न खेलकुदका गतिविधि निरन्तर गर्न परिषद्ले सधैँ अभिभावकीय भूमिका खेल्ने बताउनुभयो ।
संस्थाको २७ औँ वार्षिक समारोह एवं तीज अवसरमा ३ दिनसम्म लामाचौरको इन्द्रराज्य लक्ष्मी माविको प्राङ्गणमा महोत्सव हुने पूर्व अध्यक्ष एवं महोत्सवका अर्थ सङ्कलन तथा टिकट व्यवस्थापन समिति संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताउनुभयो ।
महोत्सवको मुख्य आकर्षण राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता ‘लामाचौर कप’ रहेको प्रथम उपाध्यक्ष तथा सूचना एवं सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले बताउनुभयो ।
१० औँ संस्करणको लामाचौर कपमा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिएका छन् । महोत्सवमा विभिन्न प्रकारका स्टल समेत रहेको सहसचिव हरिबहादुर थापाले बताउनुभयो ।

महोत्सवको अरू आकर्षण अन्तर महिला समूहगत खुला तीज गीत प्रतियोगिता तथा अन्तर विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता हुन् । खुला तीज गीत प्रतियोगितामा १४ टिमले भाग लिएको निर्णायक संयोजक दीपक खड्काले बताउनुभयो ।
तीज गीत प्रतियोगितामा प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वनालाई १० हजार तथा सहभागी टिमलाई प्रोत्साहन बापत २ हजार प्रदान गरिने छ ।
१७ टिमले भाग लिएको अन्तर विद्यालय स्तरीय लोकनृत्य आइतबार सुरु हुनेछ । जसमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना (३ टिम) लाई क्रमशः ४०, २५, १५ र ५ हजार तथा उत्कृष्ट भेषभूषालाई ५ हजार पुरस्कृत गरिने अनुगमन समिति संयोजक मिलन केसीले बताउनुभयो ।
महोत्सव सम्पन्न गर्न ५२ लाख ७७ हजार ५ सय खर्च लाग्ने अनुमान रहेको अर्थ सङ्कलन तथा टिकट व्यवस्थापन समिति संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्