तपाईँ सुन्दै हुनुहुन्छः

अभियान उत्साहजनक रुपमा अघि बढिरहेको छ : माओवादी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान उत्साहजनक रुपमा अघि बढिरहेको जनाएको छ ।

नेकपा माओवादी केन्द्रले आज पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा पार्टी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले माओवादी केन्द्रको विशेष अभियान जनताको उत्साहजनक सहभागितामा अघि बढिरहेको बताउनुभयो ।

file photo

प्रवक्ता सापकोटाले जनतामा परेका भ्रमहरू चिर्दै पार्टी रुपान्तरणका लागि सुझाव लिन जनतासँग माओवादी पुगिरहेको जानकारी दिनुभयो ।

प्रवक्ता सापकोटाले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने क्रममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया र यसलाई टुङ्गोमा पुर्‍याउन सहयोगका लागि अपिल गर्नुहुने जानकारी दिनुभयो ।

प्रधानमन्त्रीका प्रेस संयोजक एवम् प्रचार विभाग सचिव गोविन्द आचार्यले माओवादी केन्द्रको तीन महिने अभियान विशेष र उत्साहजनक ढंगले अघि बढिरहेको जानकारी दिनुभयो ।

आचार्यले जनताले माओवादी पार्टी नै जनताको भरोसाको केन्द्र रहेको बताउँदै विभिन्न सुझावहरू दिएको र ती सुझावले पार्टीले एकीकृत गरिरहेको बताउनुभयो ।

माओवादी केन्द्रको तीन महिने अभियान सुरु भएको १५ दिन पूरा भएको छ । यस अवधिमा करिब ८० प्रतिशत वडामा अभियान पुगेको र बाँकी वडामा पनि तयारी भइरहेको प्रचार विभाग सचिव आचार्यले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले विशेष अभियानका क्रममा २५ लाख जनतासँग भेटघाट गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा बढी जनतासँग भेटघाट हुने प्रचार विभागका सचिव आचार्यले जानकारी दिनुभयो ।

विशेष अभियान अन्तर्गत माओवादी केन्द्रले १५ दिनको अवधिमा बागमती प्रदेशमा मात्र एक लाख बढी जनतासँग पुगेको जनाएको छ ।

विशेष अभियान अन्तर्गत सिन्धुली जिल्लाका संयोजक एवम् माओवादी नेता महेश्वर दाहालले जिल्ला जिल्लामा सञ्चालन भइरहेको अभियान उत्साहजनक रुपमा अघि बढेको र जनताले माओवादीप्रति व्यापक गुनासो राखेको बताउनुभयो ।

माओवादी केन्द्रको जारी ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानमा केन्द्रिय नेता तथा कार्यकर्ताहरूले पार्टी सुदृढीकरण, साङ्गठनिक गतिविधि सञ्चालन गर्दै पार्टी रुपान्तरणका लागि जनताको सुझाव लिने लगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button