तपाईँ सुन्दै हुनुहुन्छः

मुगु अस्पतालमा पहिलो पटक भेटिए डेङ्गु रोगका बिरामी

मुगु । मुगु जिल्ला अस्पताल ठिनीमा  पहिलो पटक डेङ्गु रोगको सङ्क्रमणका  बिरामीहरू भेटिएका छन् ।  सुरुमा ज्वरो आउने, टाउको दुख्ने, रक्तचाप घट्ने, शरीरमा पानीको मात्रा घट्ने र शरीरमा आलस्य आउने भएपछि अस्पताल आएका बिरामीहरूको चेक जाँच गर्दा डेङ्गु  रोग पुष्टि भएको जिल्ला अस्पताल ठिनी मुगुका डाक्टर अर्जन भामले बताउनु भयो । 

अहिलेसम्म तीन जना जति बिरामीहरूमा डेंगुको संक्रमण देखिएको छ भने अस्पताल चेकजाँच गर्न नआई घरमै यस रोगले थलिएका बिरामी हुन सक्ने पनि उहाँले बताउनु भयो ।  मुगु  हिमाली जिल्ला भएकाले विगतमा यो रोग नदेखिएको भएपनि पछिल्लो समयमा नेपालगन्ज, सुर्खेतबाट गाडीहरू धमाधम मुगु आउँदा  लामखुट्टेहरू गाडी सँगै जिल्लामा भित्रिदा यो रोगको सङ्क्रमणका रोगीहरू बिस्तारै देखिन थालेको अस्पतालले बताएको छ । 

File Photo

डेङ्गु एडिस (Aedes) नामक लामखुट्टेको टोकाइबाट सर्छ, जसले जिका र चिकनगुनिया जस्ता भाइरस पनि बोक्छ ।

लामखुट्टेले डेङ्गु ज्वरो भएको व्यक्तिलाई टोक्छ र त्यसपछि अरू कसैलाई टोक्छ, जसले गर्दा उनीहरू संक्रमित हुन्छन् ।

डेङ्गु एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग होइन तर डेङ्गु गर्भवती महिलाबाट बच्चामा सर्न सक्छ । संक्रमित व्यक्तिको वरपर बसेर डेङ्गु ज्वरो आउन सक्दैन बरु लामखुट्टेको टोकाइबाट डेङ्गु ज्वरो सर्छ ।

डेंगु रोगको औषधि खासै नभए पनि बिरामीहरूले अत्यधिक मात्रामा पानी खानु पर्ने र शरीरलाई सुख्खा राख्न पनि नहुने बताइएको छ । यो रोग लामखुट्टेको टोकाइका कारणले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले लामखुट्टेको टोकाईबाट बच्ननु पर्ने डाक्टर नकुल शाहीले बताउनु भयो । गाउँ बस्तीहरूमा प्राय जसो ज्वरोका बिरामीहरू बढेकाले सचेत नरहे महामारीको रुपमा फैलिन सक्ने पनि डाक्टर शाहीले बताउनु भयो ।

डेङ्गुका प्रारम्भिक लक्षणहरु ३ देखि ७ दिनसम्म रहन्छ । यस पछि धेरै मानिसहरूले ठीक भएको महसुस गर्न थाल्छन्, तर केहीलाई प्राणघातक गम्भीर डेङ्गु हुन्छ जसको लागि चिकित्सा उपचारको आवश्यकता हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button