पोखरामा शुक्रबार देखि राष्ट्रिय भलिबल कप हुने

पोखरा । पोखराको लामाचौरमा भोलि (शुक्रबार) देखि राष्ट्रिय भलिबल कप अन्तर्गत पुरुष भलिबल प्रतियोगिता सुरु हुने भएको छ । लामाचौरको इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा शुक्रबार बिहान घरेलु टिम गण्डकी प्रदेश विरुद्ध बागलुङको गलकोट स्पोट्र्स क्लब बिच खेल हुने भएको छ ।
उक्त खेल बिहान ७ः०० बजे हुने खेल तालिका सार्वजनिक गरिएको नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले बताउनु भयो । त्यसै गरी शुक्रबार लिग चरणका ५ खेल हुने भएको उहाँले जनाउनु भयो । दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग मणीमुकुन्द क्लब बुटवल बिच हुने भएको छ भने तेस्रो खेल सशस्त्र प्रहरी बलको एपिएफ क्लब विरुद्ध बागलुङको गलकोट स्पोट्र्स क्लब बिच खेल हुने भएको छ ।
त्यस्तै शुक्रबार गण्डकी प्रदेशले मणीमुकुन्द क्लब बुटवलसँग सामना गर्ने भएको छ भने शुक्रवारको अन्तिम खेल नेपाल पुलिस क्लबसँग अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग प्रतिस्पर्धा हुने भएको छ । त्यसै गरी महिला तर्फको खेल भने शनिबार देखि हुने भएको समाजका पूर्व अध्यक्ष बुद्धि बहादुर क्षत्री खत्रीले बताउनु भयो । समाजको आयोजनामा भदौंं ३० देखि असोज १ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा महिला तर्फ २ विभागीय सहित ४ टिम र पुरुष तर्फ भने २ विभागीय सहित ५ टिमको सहभागिता हुने भएको उहाँले बताउनु भयो ।
उक्त प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, काठमाडौँको न्यू डायमण्ड एकेडेमी र बुटवलको न्यू एभरेष्ट भलिबल क्लब सहभागी हुने भएको छ । पहिलो दिनमा दर्शक प्रवेश शुल्क: १००, दोस्रो र तेस्रो दीनमा २०० र फाइनलमा ३०० रूपैमा लाग्ने भएको छ । महिला तथा पुरुष तर्फ नेपाल आर्मीको त्रिभुवन क्लब यसपाली सहभागी नहुने भएको अध्यक्ष भण्डारीले बताउनु भयो । महिला तर्फ आर्मीले अन्तिम समयमा उक्त प्रतियोगितामा सहभागी नहुने जनाएको समाजले जनाएको छ ।
राष्ट्रिय भलिबल प्रतियोगितामा महिला र पुरुष तर्फ उपाधि विजेतालाई जनही १ लाख ५० हजार १ सय ११ रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यसै गरी दोस्रो हुने टिमलाई जनही १ लाख १ सय ११ र तेस्रो हुनेलाई जनही ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको समाजले जनाएको छ ।
समाजले लामाचौर तिज महोत्सवको अवसरमा उक्त भलिबल प्रतियोगिता सहित सितोरियो कराँते प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, अन्तर महिला समूह तिज गीत प्रतियोगिता, स्रष्टा सम्मान, सांस्कृतिक कार्यक्रमहरू लगायतका कार्यक्रमहरू हुने भएको सूचना तथा सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले जनाउनु भयो । तिज पर्वमा आफूहरूले समाजमा रहेका युवाहरूलाई खेलकुदको माध्यमबाट समाजमा केही परिवर्तन गर्न सकिन्छ भन्ने सन्देश दिन पनि खेलकुदलाई निरन्तरता दिँदै आएको उहाँले जनाउनु भयो ।
उक्त भलिबल सहित महोत्सव सम्पन्न गर्न करिब ५० लाख खर्च लाग्ने समाजले जनाएको छ । समाजले लामो समय देखि उक्त महोत्सवबाट बचत रकमलाई समाजद्वारा सञ्चालित एम्बुलेन्स तथा शव वाहन सेवामा खर्च गर्दै आएको पूर्व अध्यक्ष सञ्जयकुमार अधिकारीले बताउनु भयो । साथै भलिबल खेललाई व्यवस्थित पार्न ४ हजार क्षमताको अस्थायी प्यारापिट समेत निर्माण भएको समाजका सहसचिव हरिबहादुर थापाले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्